काठमाडौँ । दान, होम, जप, तप गरी आज अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने धार्मिक विश्वासका साथ यस दिनलाई अक्षय तृतीया भनिएको हो ।
हिन्दुशास्त्रअनुसार वर्षभरिमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग अक्षय तृतीया हो । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । तर आज करिब एक दशकपछिकै शुभ र अदभूत संयोग बनेको छ ।
हिन्दु पञ्चांग र ज्योतिषाचार्यका अनुसार सूर्य, शुक्र, चन्द्र र राहु ग्रहको शुभ संयोग छ । यी ग्रहको उपस्थिति उच्च राशीमा छ । यस्तो संयोग निकै दुर्लभ र सौभाग्यशाली मानिन्छ । यसअघि सन् २००३ मा पनि यस्तै अदभूत संयोग बनेको थियो ।
ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको पौराणिक विश्वास छ । अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्वको रूपमा पनि चिनिन्छ ।
आजका दिन आगन्तुक सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सर्वत र सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । अक्षय तृतीयाको दिन शुभ फल प्राप्त गर्नका लागि सुनबाट बनेको कुनै पनि बस्तु खरिद गर्नुपर्ने मान्यता छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६, १०:२९