काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने निर्वाचन अन्तर्गत ४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् ।
गएराति अबेरसम्म राजनीतिक दलले आआफ्नो पार्टीको बन्दसूची बुझाएको र आज दिनभरमा रुजु गरिने निर्वाचन आयोगका सूचना अधिकारी गुरु वाग्लेले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन निवेदन दिएका ६८ मध्ये ४८ दलले मात्रै समानुपातिकको बन्दसूची पेस गरेका हुन् ।
यस हिसाबले १ सय १० सांसद समानुपातिक रूपमा छानिने छन् ।
प्रदेश नम्बर १ मा ५५ निर्वाचनमा सहभागी हुन निवेदन दिएकोमा ३६ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् ।
प्रदेश १ बाट ३७ जना सांसद समानुपातिक हुने छन् भने मधेस प्रदेशमा ३६ दलले बन्दसूची बुझाउँदा त्यहाँबाट ४३ सांसद समानुपातिकका हुने छन् ।
बागमती प्रदेशमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२ कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ राजनीतिक दलले समानुपातिकतर्फकको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले हिजो र अस्ति समानुपातिकको बन्दसूची बुझाउने समय दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९, ०९:४७