काठमाडौँ । विपद् व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा युवा नेतृत्व विकास र सहभागिता बढाउन स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिद्धता व्यक्त गरेका छन् ।
जनकपुर र सुर्खेतका नगरपालिकालाई ‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका तथा युवा परिचालनका लागि आह्वान पत्र हस्तान्तरण एवं प्रयास परियोजनाको प्रभावका बारेमा अनुगमन तथा छलफल’ कार्यक्रममा जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिस ओभरसीज (भीएसओ), नेपाल युवा संस्था सञ्जाल (आयोन), फ्रेन्डस् सर्भिस काउन्सिल नेपाल (एफएससीएन) र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) को सहकार्यमा सञ्चालित ‘प्रयास परियोजना’ अन्तर्गत जनकपुर र सुर्खेतका बिभिन्न नगरपालिकामा केन्द्रीत रहेर रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिएको थियो ।
गएको साता जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १७ र १८ मा विपद् व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका कार्यहरूको संयुक्त अनुगमन गरिनुका साथै आह्वान पत्र पेस गरिएको छ ।
बुधबार जनकपुरधामका मेयर, उपमेयर, वडा नं १७ र १८ का वडा अध्यक्ष, दुवै वडाका सदस्यहरू, स्वयंसेवी पत्रकार, आयोनका प्रतिनिधि, भीएसओका प्रतिनिधि, मिडिया भोलेन्टीएर, वाईएलसीसहित सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
उक्त अवसरमा प्रयास परियोजनाले गरेका कार्यहरूको प्रभावका बारेमा सबैको भनाइ तथा धारणा सङ्कलन गरिएको हो ।
आह्वान पत्र बुझ्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले ‘प्रयास परियोजना’ ले गरेका राम्रा कामहरूको बारेमा आफूले रेडियो कार्यक्रम ‘प्रयास’ र कर्मचारीमार्फत सुनेको बताउनुभयो ।
परियोजना सकिएपछि यस्ता विपद् र युवासम्बन्धी कार्यक्रम निरन्तर गर्नको लागि उहाँले आग्रह गर्नुभयो ।
वडा नम्बर १७ का अध्यक्ष रामवृक्ष यादवले ‘प्रयास’ परियोजनाले वडा कार्यालयलाई विपद्पूर्व तयारीका समग्री हस्तान्तरण गर्दैछ भनेर आफू प्रतीक्षामा रहेको बताउनुभयो । वडामा ‘प्रयास’ परियोजनाले निक्कै राम्रो काम गरेको र समुदायमा पुग्दा पनि आफूले सकारात्मक प्रभावका बारेमा सुनेको जानकारी गराउनुभयो ।
उहाँले बुधबार विहान साढे ७ बजे प्रसारण हुने रेडियो कार्यक्रम ‘प्रयास’मार्फत पनि आफूले धेरै जानकारी प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा आयोनका जिल्ला संयोजक जागेश्वर यादवले आयोनको तर्फबाट परियोजनाको प्रभावका बारेमा प्रस्तुति गर्नु भएको थियो भने अकोराबका व्यवस्थापक दीपक आचार्यले पनि रेडियो कार्यक्रमको प्रभावका बारेमा प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा मिडिया भोलेन्टरहरूले परियोजनाको कारण आफू व्यावसायिक पत्रकार बन्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।
रेडियो कार्यक्रम ‘प्रयास’ को प्रभावको बारेमा पनि उनीहरूले जानकारी गराएका थिए ।
संयुक्त अनुगमन टोलीले जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई पालिका कार्यालयमै भेटेर छलफल गरेकोे थियो ।
छलफलमा सामुदायिक रेडियो प्रसारक सङ्घका व्यवस्थापक आचार्यले विपद् व्यवस्थापनमा नगरपालिकाले गर्नुपर्ने कार्य र भूमिकाको बारेमा ‘आह्वान पत्र’ हस्तान्तरण गर्नुभयो भने नगर प्रमुख साहले आह्वान पत्रले उठाएका सवाललाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
संयुक्त अनुगमन टोलीले संयुक्त अनुगमन अर्थात ज्वाईन्ट मोनिटरिङको लागि वडा नम्बर १७ मा रहेको जलवायु परिवर्तन सिकाइ केन्द्रमा पुगेर युवाहरूसँग छलफल गरेको थियो भने वडा नं १८ को पनि अनुगमन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९, १०:५४