काठमाडौँ । सरकारकाले बजारमा सिटामोलको अभाव हुन नदिने र तत्काल मूल्य पनि नबढ्ने बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले यसबारेमा आफूले औषधी उत्पादकसँग छलफल गर्नुका साथै औषधी व्यवस्था विभागले ठूलो परिमाणामा पारा सिटामोल उत्पादन गरी बजारमा पठाइरहेकाले अभाव नहुने जानकारी दिनुभयो ।
सीआईएनसँग उहाँले भन्नुभयो, 'यसबारेमा मैले औषधी उत्पादकसँग छलफल गरेको छु । सरकारले पनि दैनिकजसो सिटामोल बजारमा पठाइरहेको छ, औषधी उत्पादकसँग पनि मैले छलफल गरेको छु पारा सिटामोलको अभाव हुँदैन, हुन दिइँदैन ।'
औषधी उत्पादकले सिटामोलको उत्पादन लागत नै बढेकाले मूल्य बढाउनुपर्ने माग गरिरहेको भए पनि कम्तीमा चुनाव अघि यसको मूल्य समायोजन नगरिने मन्त्री खापुङको भनाइ छ । '
कच्चा पदार्थको मूल्य बढ्नुका साथै उत्पादन लागत बढेकाले १ रुपैयाँमा एक चक्की पारा सिटामोल उपलब्ध गराउनै नसकिने अवस्था रहेको भन्ने व्यवसायीको माग छ, यो माग निकै हदसम्म जायज नै हो भन्ने पनि देखिएको छ, तर पनि आगामी चुनाव अघि अर्थात् यो सरकारले सिटामोलको मूल्य बढाउँदैन' उहाँले भन्नुभयो ।
काठमाडौँ उपत्यकालगायतका ठाउँमा डेंगीको संक्रमण बढेसँगै पारा सिटामोलको पनि माग बढेको छ ।
डाक्टरले डेंगीका कारण धेरै ज्वरो आउने र शरीर दुख्ने भएकाले पारा सिटामोल खान सुझाव दिएका छन् । डेंगी भएका बेला निम्स, ब्रुफिन लगायत दुखाइ कम गर्ने औषधी प्रयोग गर्नै नहुने डाक्टरको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९, १२:२४