काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको निष्कर्ष निकालेको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि बुधबार बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि नै प्रहार भएको ठहर गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा राष्ट्रपतिबाट नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भइ प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको ठहर गर्दछ ।’
राष्ट्रपतिको कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित हुनुका साथै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको पनि विज्ञिप्तमा उल्लेख छ । गठबन्धनको बैठकले ‘राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन आहृवान पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९, १३:२३