काठमाडौँ । जवाफदेही र समावेशी शासनका पक्षमा पैरवी गर्न सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना नागरिक सहभागिता बढाउन तथा नागरिक संस्था र सञ्चारमाध्यमका लागि सबल वातावरण बनाउन सफल भएको छ ।
काठमाडौँमा आयोजना गरिएको अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को सहयोगमा एफएचआई ३६० ले विभिन्न नागरिक संस्थासँगको सहकार्यमा सञ्चालन गरेको परियोजनाको समापन समारोहमा यस्तो जानकारी दिइएको हो ।
परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा ६ वर्ष सञ्चालन गरिएको थियो ।
परियोजनाले सङ्घीय र प्रदेश तहमा सार्वजनिक कानुन तथा नीति निर्माणमा नागरिक समाज र सञ्चारमाध्यमको नेतृत्वलाई प्राविधिक सहयोग, रेडियो र सामाजिक सञ्जाललगायत माध्यममार्फत नागरिकको चासोका मुद्दामा कार्यक्रम सञ्चालन गर्नुका साथै सहभागितामूलक पद्धतिबाट जबाफदेहिताको खोजी, नागरिक संस्था र सञ्चारमाध्यमप्रतिको विश्वास, दक्षता र नेतृत्व क्षमता बढाएर जबाफदेही सरकारका लागि पहल, मानवअधिकार क्षेत्रमा क्रियाशील संस्थाको क्षमता विकास र समावेशी सहभागितासहितको जवाफदेही सरकारका लागि दक्षता वृद्धि गर्न ३५ सयभन्दा धेरै गतिविधि गरेको जनाएको छ ।
समापन कार्यक्रममा नागरिकका प्रश्न र विचारहरूका लागि मञ्च प्रदान गर्ने, स्थानीय अधिकारीलाई जवाफदेही र समावेशी बनाउन तथा निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन पैरवी गर्ने, स्थानीय स्रोतको परिचालन, नागरिक अधिकारका पक्षमा पैरवी, क्षमता विकास र दिगोपनका पक्षमा परियोजनाले उल्लेख्य योगदान पुर्याएको एफएचआई ३६० नेपालका कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “हामीले काम गरेका ५७ नगरपालिकामा नागरिक संलग्नता र सहकार्यात्मक शासनमा सशक्त सुधार देख्यौँ । परियोजनाले काम गरेका ६ प्रदेशका ३४ जिल्लामा नागरिकलाई आफ्नो सरकारसँग जोड्ने काम गर्यो ।”
समावेशी सहभागिता र जवाफदेहीताका सिद्धान्तहरूमा केन्द्रित हुँदै पारस्परिक जबाफदेहिता परियोजनाले ६ प्रदेशका ३४ जिल्लाका ५७ नगरपालिकामा वडा, नगरपालिका र जिल्ला तहसम्म नागरिक संलग्नता र सहभागितामूलक शासनका लागि पैरवी गरेको छ ।
यसमा २२ सहरी र ३५ ग्रामीण क्षेत्रका नगर छानिएका थिए । साथै सङ्घ तथा प्रदेश तहमा नागरिक संस्था तथा सञ्चार माध्यमसँग सम्बन्धित नीति वकालत गर्न सङ्घमा २२ वटा कानुन तथा मस्यौदा र स्थानीय सरकारको तहमा एक सय वटा नीति निर्माण सहयोगमा परियोजना सफल भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
परियोजनाको सहजीकरणमा सबै नगरपालिकाले स्थानीय शासनमा वडा तहबाटै नागरिक सहभागिता सुनिश्चित गर्नका लागि वडा स्तरमा साझा सभाहरू, नगरपालिकास्तरमा साझेदारी फोरमहरू र जिल्ला स्तरमा नागरिक सञ्जाल मार्फत स्वास्थ्य, शिक्षा, कृषि र विपद् जोखिम न्यूनीकरणमा केन्द्रित पहल भएको जानकारी दिइएको थियो ।
यी सबैमा परियोजनाका साझेदार र सहयोगीहरूको संस्थागत र नेतृत्व क्षमता बलियो बनाउन तथ्यपरक र लक्षित गतिविधि भएको पनि एफएचाई ३६० ले जनाएको छ ।
परियोजना २०१६ अप्रिल ४ देखि २०२२ सेप्टेम्बर ३० सम्म लागू भएको हो ।
इक्वल एक्सेस इन्टरनेसनल र इन्टरनेसनल सेन्टर फर नट फर प्रफिट लको साझेदारीमा यो परियोजनाको नेतृत्व एफएचआई ३६० ले गरेको थियो । यसमा एक सयभन्दा धेरै नागरिक समाजका सङ्गठन, सञ्चारमाध्यम र स्थानीय तथा सङ्घीय सरकार तथा संवैधानिक निकायको समेत साझेदारी थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९, १२:२४