काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा ३ वर्षअघि भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो ।
३० जनाभन्दा बढी घाइते भए । उद्धारकर्ताले घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाए ।
अस्पताल पठाइए पनि घटनास्थलमा भने कुनै पनि प्राथमिक उपचार नगरिएको दुर्घटनाका घाइते कमला मोक्तान बताउनुहुन्छ ।
समयमै प्राथमिक उपचार नपाउँदा सवारीसाधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या धेरै हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
दुर्घटनामा घाइते भएकालाई उद्धार गर्दै अस्पताल पठाउने गरिए पनि त्यसअघि अर्थात् घटनास्थलदेखि अस्पताल पुर्याउँदासम्ममा घाइतेको प्राथमिक उपचार गरिए उनीहरूको मृत्यु हुने सम्भावना ८० देखि ९० प्रतिशतसम्म कम हुने वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसका लागि सवारी चालक अनुमति पत्र लिने बेलामै छोटो अवधिको प्राथमिक उपचारसम्बन्धी तालिम लिएको हुनुपर्ने, प्रत्येक सवारीसाधनमा प्राथमिक उपचारका सामग्री राख्नुपर्नेलगायत व्यवस्थालाई अनिवार्य लागु गर्न सकिने डा. बस्नेतको भनाइ छ ।
दुर्घटनास्थलमा सामान्यतया सबैभन्दा पहिले प्रहरी पुग्छ ।
तर, प्रहरीलाई नै प्राथमिक उपचारको आधारभूत सीप सिकाइएको छैन । ७५ हजारभन्दा बढी प्रहरीमध्ये करिब ६ सय जनाले मात्रै प्राथमिक उपचारसम्बन्धी तालिम लिएका छन् ।
दुर्घटना स्थलमा खटिने प्रहरीसहितका सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायत उद्धारकर्तालाई प्राथमिक उपचारको तालिम अनिवार्य दिएर स्वास्थ्य सामग्रीसमेत सरकारले उपलब्ध गराउनुपर्ने जनस्वास्थ्य विज्ञ कृष्ण गानिला बताउनुहुन्छ ।
घटनास्थलबाट अस्पताल पुर्याउँदासम्म नै घाइतेलाई उद्धारका साथै प्राथमिक उपचार पनि प्रदान गर्न सके धेरै जनाको ज्यान जोगाउन सकिने भएकाले दुर्घटना कम गर्ने उपाय अपनाउनुका साथै दुर्घटनामा परेकाहरूलाई अस्पताल पुर्याउनु अघि नै प्राथमिक उपचार गर्ने बारेमा पनि सरकारले ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
सवारी दुर्घटनाका घाइतेलाई थप जोखिम हुन नदिन प्राथमिक उपचार गरेर मात्र अस्पताल पुर्याउने उद्देश्यले ललितपुरको अलका अस्पतालले ७ वर्षअघि काठमाडौँ उपत्यकाका करिब १२ सय ट्राफिक प्रहरीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको थियो ।
तर, प्रहरीको आफ्नै कार्यक्रम नभएकै कारण यसले निरन्तरता पाउन नसकेको नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की बताउनुहुन्छ ।
सन् २००० बाट नेपालमा प्रत्येक वर्ष प्राथमिक उपचार दिवस मनाइने गरेको छ ।
तर प्राथमिक उपचारसम्बन्धी अवधारणा व्यापक भने हुन सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले स्वास्थ्यकर्मीलाई प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
तर, स्वास्थ्यकर्मीले सामान्यतया अस्पताल पुर्याएपछि मात्रै घाइतेको उपचार गर्ने हो ।
त्यसअघि घटनास्थलबाट अस्पताल पुर्याउँदासम्म नै घाइतेलाई उद्धारका साथै प्राथमिक उपचार पनि प्रदान गर्न सके धेरै जनाको ज्यान जोगाउन सकिने भएकाले दुर्घटना कम गर्ने उपाय अपनाउनुका साथै दुर्घटनामा परेकाहरूलाई अस्पताल पुर्याउनु अघि नै प्राथमिक उपचार गर्ने बारेमा पनि सरकारले ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९, १३:५३