काठमाडौँ । गएराति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी किनारका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडेलगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको र थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै दिउँसो १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको हो ।
डडेलधुराको गैबन्दे, जोगबुढा र केही स्थान तथा कञ्चनपुर, कैलाली, बर्दीया, झापा, मोरङ, सुनसरी र सप्तरीका केही स्थानमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले भनेको छ ।
आज दिउँसो विभिन्न प्रदेशका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो पानी पर्नेछ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्राईले सीआईएनसँग बताउनुभयो ।
ठूलो पानी पर्ने भएकाले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने उहाँको भनाइ छ ।
महाशाखाका अनुसार ठूलो पानी पार्ने प्रणाली आज राति नै कमजोर हुने देखिन्छ । तर मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९, ०७:००