काठमाडौँ । स्थानीय तहहरूको समन्वयमा डेङ्गी सङ्क्रम रोक्न गरिएको प्रयास प्रभावकारी नभएपछि सरकारले कसरी अघि बढ्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।
करिब १ साता अघि स्वास्थ्य तथा जनसङ्ख्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो ।
तर त्यसअनुसारको नतिजा नआएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सीआईएनसँग बताउनुभयो ।
‘बस्तीमा किटनाशक औषधि छर्ने माग पनि आइरहेको छ । तर विज्ञ समूहको सिफारिस भइसकेको छैन । कसरी अघि बढ्ने भन्ने बारेमा आज छलफल चलाउने तयारी गरेको छु ।’ मन्त्री खापुङले भन्नुभयो ।
थप दुई जनाको मृत्यु भएसँगै डेङ्गीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
सीआईएनसँग कुरा गर्दै एकजना जनस्वास्थ्यविज्ञ डा. खेम कार्कीले भने ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी नभएका कारण डेङ्गी हिमाल, पहाड र तराइमा फैलिएको बताउनुभयो ।
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन, झुल भित्र सुत्न तथा घर वरीपरी सरसफाई गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न चिकित्सकले सुझाव दिने गरेका छन् ।
नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९, ०८:००