गोल्डेन बुढा,रेडियो गुठिचौर
जुम्ला । कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिङ्गो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ।
चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना गरिएको हो । बर्सेनि घटास्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन छ।
एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो खडा गर्ने प्रचलन रहेको स्थानीय रमानन्द आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ। चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुई वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने गरेका छन्।
नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ।
लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटास्थपान सुरु हुन्छ। घरघरमा जमरा राखिन्छ। आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन्।
परम्परागत प्रचलन अनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ।
विश्वकै अग्लो स्थानमा फल्ने मार्सी धानको उत्पादन गरेको भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानिय चित्रलाल श्रेष्ठको भनाइ छ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९, १२:५४