काठमाडौँ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गैरआवाशीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ-संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न श्रमिक सहायता केन्द्र चौबिसै घण्टा सञ्चालन गरिने बताउनुभयो ।
जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयनमा आफूले प्राथमिकताका साथ काम गर्ने राजदूत पौडेलले जानकारी दिनुभयो ।
क्वालालम्पुरस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायतले पौडेललाई स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९, ०६:५७