काठमाडौँ । ‘सिट बाँडफाँडमा सहमतिका लागि गठबन्धनको बैठक बस्दै’, कार्यदलमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुने’, ‘शीर्ष तहले फेरि कार्यदललाई सक्रिय बनाउने’ यस्तै खबर नेपाली सञ्चारमाध्यममा पढ्न र लेख्न थालिएको १ महिनाभन्दा धेरै भइसक्यो ।
गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा आज सहमति गर्ने सम्भावना रहेको नेताहरूले दावी गरेका छन् तर यसमा पनि दोस्रो, तेस्रो तहका नेताहरू निश्चित छैनन् ।
गठबन्धनमा सहभागी दलका एक नेताले भने,‘सहमतिको रटान दिनहुँ लागिरहेको छ, तर कुनै पनि दिनमा सहमतिका लागि नेताहरूले अडान छोड्न सकेका छैनन् । जबसम्म सहमतिमा हस्ताक्षर हुँदैन, तबसम्म सहमति हुन्छ भन्नुमा कुनै विश्वास छैन ।’
सहमति अघि सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज बस्ने र शीर्ष नेता सम्मिलित बैठकमा पेश गर्ने तयारी भएको एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले सीआईएनसँग बताउनुभयो ।
नेपाली काँग्रेस भित्रको सभापति देउवा र नेता शेखर कोइराला पक्षको विवादको प्रभाव सिट बाँडफाँडमा देखिएको अरु दलहरूको निष्कर्ष छ ।
सरकारमा सहभागी काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् ।
कार्यदलका एक सदस्यका अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत जस्तो देखिएका कारण सम्झौता हुने सम्भावना छ तर काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अडान फेर्ने डर माओवादी केन्द्रलगायत अरु दललाई छ ।
काँग्रेसको कोइराला समूहले भने ८५ सिटमा सम्झौता गरे त्यो देउवा समूहलाई व्यवस्थापनमा अपुग हुने र आफूहरू झन किनारामा पर्ने भन्दै नेतृत्वविरुद्ध खबरदारी अभियान चलाइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९, ११:०७