काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गर्नुभएको छ ।
अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ) मा हस्तारक्षर गर्नुभएको हो ।
हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए) मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ ।
पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा पनि नेपालले सहयोग पाउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।
सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औँ महासभालाई पनि सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरूको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो ।
साथै विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उहाँले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गर्नुभयो ।
सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औँ वार्षिकोत्सवमा पनि सहभागीता जनाउनुभएको छ ।
मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९, ११:२४