काठमाडौँ । सल्यानको कपुरकोटमा भएको गाडी दुर्घटनामा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।
बाँकेको ढिकेरीबाट सल्यानको रिमका लागि छुटेको रा १ ज ५६३ नम्बरको डबल क्याब भनिने पिक अप गाडी राप्ती राजमार्गको मुलपानीमा भएको दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलबाङका ३७ वर्षका धर्मा ओली, ११ वर्षका वसन्त ओली, ४० वर्षका टोपबहादुर ओली, ५५ बर्षका कुमारी ओली, ७० वर्षका खुमलाल ओली, ३५ वर्षका ललित ओली, ३० वर्षका सुरेश खत्री र गाडी चालक २१ वर्षका जीतबहादुर बोहराको मृत्यु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
गाडीमा ९ जना रहेकोमा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ललित बोहराको कोहलपुरमा उपचार भइरहेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
मृत्यु भएकामध्ये धर्मा, वसन्त, टोपबहादुर, कुमारी, खुमलाल र ललित ओली दाजुभाइको परिवारका सदस्य रहेको गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले सीआईएनलाई जानकारी दिनुभयो ।
बाँकेको ढकेरीमा भान्जीको विवाहमा गएर फर्किने क्रममा बुधवार बिहान २ बजेतिर दुर्घटना भएको हो । 'हिजो बेहुली अन्माउन ढिलो भएकाले उहाँहरू फर्किन पनि ढिलाइ भएको रहेछ,' अध्यक्ष पुनले सीआईएनसँग भन्नुभयो, 'तर बिहानै तरकारी लिएर फर्किने गाडी पाएपछि उहाँहरू बेलुका ७ बजेतिर घर फर्किनु भएको रहेछ, त्यसै क्रममा यो दुखद घटना भयो ।'
मृतकको पोस्टमार्टम गरी शव आफन्तले बुझेको र आजै सामूहिक अन्त्येष्टि गर्ने तयारी रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
गाडीमा पाँच जनाको मात्र सिट हुने भए पनि ९ जना चढेको पाइएको र रातीको समय भएकाले निद्राका कारण पनि दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९, १४:३७