काठमाडौँ । डेंगी सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । यससँगै गएको साउन महिना यता नेपालमा डेंगीबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा साउनयता २७ हजार ५६९ जनामा डेंगी सङ्क्रमण भएको र मुस्ताङबाहेकका ७६ वटै जिल्लामा डेंगीका बिरामी पाइएको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९जना, लुम्बिनी प्रदेशमा ३ हजार ५० जना, सुदूरपश्चिम प्रदेशमा ८ सय २१ जना, गण्डकी प्रदेशमा ६ सय ५३ जना, मधेस प्रदेशमा ४ सय ५ जना र कर्णाली प्रदेशमा २३६ जनामा डेंगी सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
डेंगीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले झुल भित्र सुत्ने, वासस्थान तथा कार्यालय वरपर लामखुट्टे नष्ट गर्ने उपाय अपनाउने, पानीका खाल्डाखुल्डी पुर्ने, पानी जम्ने भाँडाकुँडा नराख्ने जस्ता कुरामा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९, १७:४१