काठमाडौँ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको सहभागिता बढाउन आफ्नो सञ्चारमाध्यममार्फत प्राथमिकता दिने सञ्चारकर्मी र सञ्चार गृहले प्रतिवद्धता व्यक्त गरेका छन् ।
केयर नेपालको सहयोगमा ओरेक र महिला एकता समाजको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आज आयोजना गरेको अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
महिला नेतृत्व र समावेशीकरणलाई निरन्तर प्राथमिकताका साथ स्थान दिएर समाचार लेखन, प्रकाशन तथा प्रशारण गर्ने प्रतिवद्धता उनीहरूको छ ।
आगामी निर्वाचनमा महिला नेतृत्व र समावेशीकरण र मतदाता शिक्षामा मिडियाको भूमिका’ विषयक अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रममा संविधानले प्रत्याभूत गरेको अधिकारलाई कार्यान्वयनको पाटोमा लैजानका लागि महिला नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ भन्ने विषयलाई सञ्चारकर्मीले वकालत गर्नुपर्ने आवश्यकता रहेको अधिवक्ता लिलानाथ घिमिरेले बताउनुभयो ।
उहाँले सञ्चारकर्मीले निर्वाचनमा महिलाको भूमिका बढाउनका लागि हरेक राजनीतिक दलले कुल सिट सङ्ख्या वा उम्मेदवारमा महिलालाई पनि समान स्थान दिनुपर्ने उल्लेख गर्नुभयो ।
निर्वाचनमा र राजनीतिक दलमा समावेशीकरणको पूर्ण कार्यान्वयन गराइ महिला, दलित, विपन्न, अल्पसङ्ख्यक, अपाङ्गता भएका र पछाडि पारिएका वर्ग समुदायलाई प्रतिनिधित्वको माध्यमबाट शासनमा सहभागी गराउने कार्यमा भूमिका खेल्ने उद्देश्यले सञ्चारकर्मीका लागि अभिमुखीकरण गरेको सीआईएनका व्यवस्थापक दीपक आचार्यले जानकारी गराउनुभयो ।
संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा लैजानका लागि सञ्चारमाध्यमले नियमित पहरेदारी गर्न, यसका बारेमा खोजी र अनुसन्धानात्मक रिपोर्टहरू, समाचार र प्रसारण सामाग्री निरन्तर दिनका लागि सामुदायिक रेडियो प्रसारक सङ्घले यस्ता कार्यक्रमहरु गरिरहेको आचार्यले जानकारी दिनु भयो ।
महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वको वकालत गर्दा सञ्चारकर्मीले विधिको शासन र लोकतन्त्र, सुशासन, समावेशीकरण, न्याय र पहिचान, सेवा प्रवाह, लैङ्गिक कानुनलगायतका विषयमा बढी जोड दिनुपर्ने आरेक नेपालका वरिष्ठ मानव अधिकार तथा सामाजिक न्याय अभियान संयोजक सुनिता मैनालीले बताउनुभयो ।
मतदाता शिक्षामा पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकाले हरेक सञ्चारमाध्यमले कसरी मत खसाल्ने, मतदाताले कसलाई मतदान गर्ने भन्ने अधिकार उसको व्यक्तिगत हुने भन्ने किसिमले रिर्पोटिङ गर्नुपर्नेमा केयर नेपालका सुशासन र जवाफदेहिता व्यवस्थापक माधव श्रेष्ठको जोड थियो ।
कार्यक्रममा २० जनाभन्दा धेरै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९, २०:१४