काठमाडौँ । शुक्रवार ( १४असोज) दिउँसो १ बजे ।
गर्मीको वास्ता नगरी यात्रु काठमाडौँको गोङ्गबु बसपार्कमा लामबद्ध छन् । त्यही लाममा हुनुहुन्छ गोपालकुमार यादव ।
सप्तरी जाने टिकट लिन उहाँ गोङ्गबु बसपार्क धाउन थालेको तीन दिन भयो । तर अहँ, उहाँले अझैँ टिकट पाउनुभएको छैन ।
‘हिजो आउँदा भोलि आउनुस् भन्नुभयो । आज बिहानै आउँदा सिट सकियो भन्नुभयो । फेरि कतै मिलिहाल्छ कि भनेर बसिरहेको छु ।’ गोपाल भन्नुहुन्छ, ‘एउटा टिकट लिन पनि यस्तो मुस्किल छ ।’
बसपार्कमा दुई दिन धाएपछि धनबहादुर बस्नेतले टिकट त पाउनुभयो तर सिटमा होइन मुडामा बसेर जाने ।
‘मुडामा पनि दुई हजार भाडा लिए । के गर्नु दिनैपर्यो ।' उहाँले भन्नुभयो ।
७१ वर्षका धनबहादुरलाई मुडामा बसेर सुर्खेत पुग्नुपर्ने कुराले चिन्ता थपिएको छ । भन्नुहुन्छ, ‘गाडी लाग्ने (बान्ता हुने) समस्या छ । कसरी पुगूँ भएको छ ।’
सरकारले काठमाडौँबाट धरानका लागि एक हजार पाँच सय ४५ रुपैयाँ भाडा तोकेको छ । तर व्यवसायीले अमृत तामाङसँग तीन हजार रुपैयाँसम्म मागिरहेका छन् ।
बझाङका नवीन धामीले निकै कष्टपछि धनगढीसम्म पुग्ने बसको टिकट त पाउनुभयो, तर भाडा भने सरकारले तोकेकोभन्दा बढी तिर्नुपर्यो ।
टिकट पाउन उस्तै, बाध्यता भोग्नुपर्यो कालिकोटका रतनबहादुर महतले पनि ।
सरकार र यातायात व्यवसायीले टिकट पाउन समस्या नहुने दाबी गरे पनि यात्रुले भने त्यसको अनुभूति गर्न पाएका छैनन् ।
सरकारले काठमाडौँबाट धरानका लागि एक हजार पाँच सय ४५ रुपैयाँ भाडा तोकेको छ । तर व्यवसायीले अमृत तामाङसँग तीन हजार रुपैयाँसम्म मागिरहेका छन् ।
‘दुई हजारसम्म त पुगिएला नि भन्ने लागेको थियो ।’ अमृत भन्नुहुन्छ, ‘मागे जति दिन आफूसँग पैसा छैन । दसैँमा नगइ पनि भएको छैन ।’
गोङ्गबु बसपार्कमा टिकट लिन पुग्ने धेरैजसो नागरिकले अहिले यस्तै सास्ती खेप्नुपरिरहेको छ ।
एकातिर टिकटै पाउन समस्या छ भने अर्कोतिर पाएको टिकट सरकारले तोकेको दरभन्दा धेरै नै महँगो छ ।
नागरिक बढी सचेत भए व्यवसायीको मनपरी रोकिने उहाँको तर्क छ । तर, सरकारले तोकेको भाडा दर कार्यान्वयन नभएर व्यापारीले मनमौजी उठाइरहँदा पनि उहाँको भनाइ गैर जिम्मेवार देखिन्छ ।
जसका कारण चाडबाड मनाउने उल्लास बोकेर घर जान चाहनेलाई दिक्दारी बढेको छ । गोङ्गबु बसपार्कमा भेटिएका धेरैजसो यात्रु कि त टिकट नपाएको वा भाडा धेरै तिर्नुपरेको गुनासो गर्छन् ।
यात्रुका यस्तै गुनासो सुन्न, बसपार्कभित्रै सहायता कक्ष खोलिएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।
सहायता कक्षका प्रहरी सहायक निरीक्षक लीला भट्टराई यात्रुले सामान्य सोधपुछ गर्ने बाहेक अरू गुनासो लिएर नआएको बताउनुहुन्छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे भने यसमा यात्रुहरू नै बढी सचेत बन्नुपर्ने भनेर पन्छिनुहुन्छ ।
‘छिट्टै बिदा पाएकाहरू पनि साथी पर्खिएर वा कुनै बहानामा अन्तिम समयसम्म सहरमै हुन्छन् । अनि एकै पटक जान खोज्दा भीड बढ्छ ।’ उहाँ भन्नुहुन्छ, ‘कुनै व्यवसायीले मनपरी रकम मागे प्रहरीलाई भन्न सकिन्छ, त्यसमा पनि उहाँहरू चासो देखाउनुहुन्न ।’
नागरिक बढी सचेत भए व्यवसायीको मनपरी रोकिने उहाँको तर्क छ ।
तर, सरकारले तोकेको भाडा दर कार्यान्वयन नभएर व्यापारीले मनमौजी उठाइरहँदा पनि उहाँको भनाइ गैर जिम्मेवार देखिन्छ ।
यो समस्या बर्सेनि हुने गरेको छ । तर सरकारी निकायले यो वा त्यो बहानामा पन्छिने गर्नाले व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । यसको मारमा बर्सेनि लाखौँ यात्रु पर्ने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९, १५:११