नवलपरासी । चितवनको खोलेसिमल बजारमा दसैँको चहलपहल छ ।
किनमेल गर्नेहरूको भीड भएकाले व्यापारीहरूलाई भ्याइनभ्याइ छ । तर बजार छेउको बस्तीमा प्रायः दलित समुदायका नागरिक बस्छन् ।
बस्तीमा न दसैँको रौनक छ, न किनमेलको उत्साह ।
कालो त्रिपालले बारेका स–साना टहराहरूमा दसैँले खुसीभन्दा पनि पीडा थपिदिन्छ । पिँढीमा बसिरहनुभएका फुलमाया विकलाई दसैँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।
चाडबाडको बेला छोराछोरीको निन्याउरो अनुहार देख्दा, मन कुँडिएर आउने उहाँ बताउनुहुन्छ ।
२०७२ सालको भूकम्पले घर भत्काएपछि जुटपानीमा २९ परिवारलाई नगरपालिकाले टहरा बनाएर राखेको थियो ।
उनीहरू ७ वर्षदेखि जसोतसो बस्दै आएका छन् ।
घरखर्चको जोहो गर्न नसक्नेहरूका लागि चाडपर्वको खुसी जुटाउने सामथ्र्य नै नभएको स्थानीय वीरबहादुर विश्वकर्माको भनाइ छ ।
कालिका नगरपालिका वडा नम्बर ७ का इन्द्रमाया विकलाई पनि अभाव धेरै र आपूर्तिक कम हुने भएका कारण दसैँ पीडा बोकेर आउने पर्व होजस्तो लाग्छ ।
सात जनाको परिवार छ । घरमा नातीनातिना छन् । दसैँ आयो, मीठो खाने भन्दै पिँढीतिर कुदिरहन्छन् ।
आम्दानीको स्रोत भनेकै पुख्र्यौली आरन पेशा हो । दुईचार थान फलामका औजार बिक्री भए केटाकेटीका अनुहारमा खुसी छाउँछ, नत्र रुँदै बस्नुको विकल्प छैन ।
दसैँ र तिहार जस्ता चाडपर्व आउँदा हुँदा खाने परिवारलाई खर्च जुटाउन निकै मुस्किल पर्ने गरेको छ ।
हुने खानेहरूले चाडपर्वको अनावश्यक खर्च घटाएर विपन्न परिवारलाई सहयोग गर्न सके सबैको घरमा खुसीयाली छाउने सामाजशास्त्रीहरूको भनाइ छ ।
दसैँले छपक्कै छोपिसक्यो । बसपार्कमा सहरबाट गाउँ फर्किनेहरूको भीड छ ।
अनि बजारमा किनमेल गर्नेहरूको घुँइचो छ ।
मीठो खाने र राम्रो लगाउने पर्वको रुपमा परिचित दसैँ, हुने खानेहरूको पर्वको रूपमा बुझिए पनि हुँदा खानेहरूलाई दसैँ आएकोगएको कुनै मतलब छैन ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९, १३:२७