काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रिको आज नवौँ दिन, शक्ति स्वरूपा देवी सिद्धि धात्रीको विशेष पूजा गरेर मनाइँदैछ ।
आज धनधान्यकी देवी महालक्ष्मीको पनि पूजा गरिन्छ ।
शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता समाजमा रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा पूरा हुन बाँकी नहुने मार्कण्डेय पुराणमा उल्लेख छ ।
आजको दिन निर्माण र शिल्पकला, कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाउने परम्परा पनि छ ।
सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ ।
आज काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा बली दिनेहरूका कारण घुइँचो हुन्छ ।
पर्साको तिलवा नदी पारी केहूनिया रहेको शक्ति पीठ विन्दवासिनी देवीको मन्दिर, वीरगन्जको गहवामाई, काभ्रेको पलान्चोक भगवती, सप्तरीको छिन्नमस्ता, डडेलधुराको उग्र तारा, जनकपुरको राजदेवी, गोरखाको मनकामनालगायत देशका विभिन्न स्थानमा रहेका शक्ति पीठ र मन्दिरमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा अर्चना र सप्तशती पाठ गरिन्छ ।
कतिपय स्थानमा भने आज माटो र अन्नका बिरुवाहरूको पूजा गरिन्छ । आजका दिन नेवा सभ्यतामा भने स्याकुटाकु मनाउने चलन छ ।
स्याकुटाकुमा आफ्नो खेतमा गएर पूजा अर्चना गर्ने, माटोलाई पुज्ने, बालीलाई पुज्ने र बलि दिने चलन छ । साहाकारीहरूले चाहिँ फलफूल नैवेद्य आदि चढाउँछन् ।
महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर पूजा, आराधना एवं दर्शन गर्न आज बिहान ४ बजेदेखि नै खुला गरिएको छ ।
बिहानैदेखि मन्दिरमा भक्जनको लाम लागेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९, ०७:०४