काठमाडौँ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहित केही अत्यावश्यक सेवा क्षेत्रका कर्मचारी बाहेक प्राय सबैजसोले दसैँतिहारमा बिदा पाउँछन् ।
सुरक्षाकर्मीलाई भने दसैँ र तिहारकै बेला जिम्मेवारी थपिन्छ ।
अन्य समयको तुलनामा थप खट्नुपर्ने अनि चनाखो बन्नुपर्ने उनीहरूलाई हुन्छ ।
केन्द्रीय कार्यालयबाट अत्यावश्यक समयमा बाहेक विदा नछोड्न परिपत्र आउने हुँदा प्राय कोही पनि सुरक्षाकर्मी घर जान पाउँदैनन् ।
प्रहरी सेवाका लागि योग्य भएपछि नै नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकतामा पर्ने सम्झाइबुझाइ गरिएका कारण पनि सङ्गठनले बनाएको नियमलाई उनीहरू मान्न तयार हुन्छन् ।
त्यसैले पनि सुरक्षाकर्मी सर्वसाधारणको खुसीमा नै आफ्नो खुसी खोज्न थाल्छन् । नेपाल प्रहरीमा हाल ७९ हजार प्रहरी कर्मचारी छन् ।
दसैँतिहारका समयमा किरिया बिदा र सुत्केरी बिदा मात्रै पाइन्छ ।
यसरी बिदा बस्नेहरू वर्षमा बढीमा ३ प्रतिशत अर्थात करिब २३ सयको सङ्ख्यामा हुन्छन् ।
सेवामा रहेका प्रहरी कर्मचारीलाईसमेत रमाइलो वातावरणमा काम लगाउने जिम्मेवारी आफूहरूमा आउने कार्यरत प्रहरीहरू बताउँछन् ।
घटस्थापनाका दिन सुरक्षाकर्मीहरूले आफू कार्यरत रहेको कार्यालयमा जमरा राखेका हुन्छन् ।
कतिपय कार्यालय परिषरमा पिङ पनि राखिएको हुन्छ ।
टिकाको दिन कार्यालय प्रमुखबाट टिका र शुभकामना लिँदै नियमित जिम्मेवारीमा खटिनन्छन् ।
सुरक्षाकर्मी कार्यरत रहेको कार्यालयमा पनि फूलपाती भित्र्याइन्छ भने अष्टमीमा मौलो पूजा गरिन्छ ।
नवमीमा सवारीसाधनको पूजा हुन्छ भने नवमीको रात कालरात्री विशेष पुजा हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेक प्रसाद राई बताउनुहुन्छ ।
चाडपर्वका समयमा शान्ति, सुरक्षामा खलल पुग्न सक्ने भएका कारण पनि यो समयमा सुरक्षाकर्मी थप सचेत हुन्छन् ।
तर यस वर्ष प्रदेश, प्रतिनिधि सभाको निर्वाचनसमेत आउँदै गरेकाले कर्तव्य र जिम्मेवारी पूरा गर्नमै व्यस्त रहने सुरक्षाकर्मीहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९, ११:५५