काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले दसैँको समयमा हुनसक्ने बिजुली आपूर्तिको समस्या समाधानका लागि २४ सै घण्टा जनशक्ति परिचालन गरेको छ ।
अरु कर्मचारी विदामा बसे पनि जम्मा कर्मचारी सङ्ख्याको ६० प्रतिशत प्राविधिक तथा अन्य जनशक्ति कुनै समस्या भएमा मर्मतका लागि तयारी अवस्थामा राखिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार समस्या भएको जानकारी पाउनासाथ खटिने गरी संयन्त्र बनाइएको छ । यसअघि ऊर्जा मन्त्री पम्फा भुसालले बिजुलीको आपूर्ति सहज बनाउन विद्युत प्राधिकरणलाई निदेशन दिनुभएको थियो ।
जानकारहरूले भने आगलागीको जोखिमबाट बच्न घर, कार्खाना, कार्यालयदेखि भान्सासम्मै सावधानी अपनाउन सुझाव दिएका छन् ।
चाडबाडको समयमा अत्यधिक भोल्टेज, ग्यासबाट खाना पकाउँदा हुने असावधानीका कारण दुर्घटना निम्तने विगतको अनुभव रहेको सीआईएनसँग कुराकानी गर्दै काठमाडौँ दमकलका पूर्व प्रमुख किशोरकुमार भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९, १५:१०