काठमाडौँ । आज आश्विन शुक्ल पक्षको दशमी अर्थात नेपालीहरूको महान चाड विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ ।
दसैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको, शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा विजयाशमी मनाउने गरिन्छ ।
स्वदेश वा विदेशमा रहेका नेपालीहरू आजको दिन टीका, जमरा लगाएर एकआपसमा शुभकामना आदानप्रदान गर्दछन् ।
यसवर्षको विजया दशमीको टीकाको उत्तम साइत आज बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दुर्गा विसर्जन गरेपछि जुनसुकै बेला पनि टीका लगाउन सकिने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले सीआईएनसँग बताउनुभयो ।
देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
दसैँमा मान्यजनहरूले टीका लगाईदिँदा निधारभरि रातो अक्षतासँगै जमरा लगाइदिने चलन छ । पछिल्लो समय कानमा पनि जमरा लगाइदिने चलन बढिरहेको छ ।
धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९, ०६:५७