काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले कतिपय क्षेत्रमा भारी वर्षाको पूर्वानुमान भएका कारण सावधानी अपनाउन विभिन्न नदी आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
आज बिहान एक सूचना जारी गर्दै विभागले पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी बर्षा भएको र थप हुने पूर्वानुमान गरिएका कारण खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत उक्त जिल्लाका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने जनाएको छ ।
होचा डुबान हुने स्थानमा आज दिउँसो १२ बजेसम्म सतर्क रहन सूचनामा भनिएको छ ।
पछिल्लो ३ घण्टा भेरी जलाधारको विभिन्न स्थानमा भारी बर्षा भएका कारण जलसतह सतर्कता र खतरा तह आसपास पुगेको पनि विभागले जनाएको छ ।
‘थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टा उच्च सतर्कता अपनाऔँ।’ विभागको सूचनामा उल्लेख छ ।
पछिल्लो ३ घण्टा गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएका कारण सम्बन्धित जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको विभागको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९, ०६:५०