काठमाडौँ । चारदिनदेखिको लगातारको वर्षाका कारण पछिल्लो २४ घण्टामा मुलुकभरमा २९ वटा घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका २ ध्यानकेन्द्रस्थित पहिरोमा परी एकै परिवारका तीनजनाको हिजो मृत्यु भयो भने प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ मा ६ जना वेपत्ता भएकोमा एकजनाको शव फेला परेको छ ।
हराइरहेका ५ जनाको आज बिहानैबाट खोजी सुरु गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले सीआईएनसँग बताउनुभयो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा १ जना वेपत्ता भएको गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार २४ घण्टामा १४ स्थानमा पहिरो झरेको छ भने ६ स्थानमा भारी वर्षा भएको छ ।
लगातारको वर्षासँगै बबई नदीमा आएको बाढीले बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् ।
सदरमुकाम गुलरियाको वालापुर, ईन्द्रपुर, मुक्तिनातघाट, गंगापुर, राधाकृष्ण टोललगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेको जिल्ला प्रशासनका कार्यालयले जनाएको छ ।
राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि बाँकेको कृषि चौफेरि गाउँबाट २ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । तर नेपालगञ्ज क्षेत्र ढुबानमा परेका कारण उनीहरूलाई खाद्यान्न पुर्याउन समस्या भएको त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन् ।
राप्ती नदीमा पानीको सतह बढेर दाङ्गको लमही नगरपालिका, वडा नं ८ सतवरिया स्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित सिसहनिया र वडा नं ४ को अर्नहवा गाउँ डुबानमा परेका छन् ।
त्यहाँ करिब २०० घर डुबानमा परेकामध्ये उच्च जोखिममा रहेका ३५ घरपरिवारका स्थानीय बासिन्दाहरुलाई सुुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९, ०६:५९