काठमाडौँ । ४ दिनदेखिको लगातारको वर्षाका कारण बढेको राप्ती र बबइ नदीको पानीको सतह आज घट्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीको सतह केही घटे पनि नदी, खोला किनारका नागरिक सजग रहनुपर्ने विभागले सूचनामार्फत जानकारी दिएको छ ।
पश्चिम राप्तीमा सतह घट्ने तर खतरा तह माथि नै रहने अनि बबइमा सतह घट्ने तर सतर्कता नजिक हुने सूचनामा जनाइएको छ । कर्णाली नदीमा भने पानीको बहाव सतर्कताआसपास हुने छ ।
महाकालीमा पानीको बहाव बढ्ने, नारायणीमा घट्ने पनि विभागको भनाइ छ ।
आज र भोलि कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन विभागले भनेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९, ११:०४