काठमाडौँ । आउँदो मङ्सिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ ।
यसका लागि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको लागि समय तोकिएको उल्लेख गर्दै ५ बजे भन्दा पछिको समयमा पुग्नेको मनोनयन दर्ता नगरिने स्पष्ट पारेको छ ।
हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनुभयो ।
आफ्नो पार्टीबाट टिकट पाएका वा स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएकाहरू मनोनयनका लागि आआफ्नो जिल्ला पुगिसकेका छन् ।
राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परे बिहान १० बजेभित्र निर्वाचन आयोगमा आवश्यक कागजात उपलब्ध गराए सहजीकरण गर्ने आयोगले जनाएको छ ।
नेपालको नागरिक, प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको व्यक्तिले उम्मेदवारका लागि मनोनय दर्ता गर्नसक्नेछन् ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९, ०७:२१