काठमाडौँ । प्रधानमन्त्री तथा डडेलधुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका शेरबहादुर देउवाको उम्मेदवारी विरुद्धको उजुरी खारेज भएको छ ।
देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुन सम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उम्मेदवारीविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजात माथि छानबिन गर्दा सबै कागजात कानुन सम्मत देखिएपछि उम्मेदवारी कायम रहने निर्णय भएको उहाँले बताउनुभयो ।
देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उहाँका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो । उजुरीमा देउवाको जन्म मिति नागरिकता र मतदाता नामावलीमा फरक रहेको दाबी गरिएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले नै आफ्नो विवरण गलत प्रविष्ट गराएको जवाफ दिनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९, १७:५३