काठमाडौँ । सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने सबै नेतालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । गठबन्धनले भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने चेतावनी दिएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिनुभएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूलाई समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
सत्ता गठबन्धनमा सहमति भए पनि कतिपय ठाउँमा गठबन्धनका एकभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी फिर्ता नलिए गठबन्धनको मत बाँडिने भएपछि गठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९, १८:१५