काठमाडौँ । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ प्रदेश सांसदमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र 'ख’बाट उम्मेदवार रहेका गुरुङसँग प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका दोर्जे लामाले उम्मेदवारी फिर्ता लिन निवेदन दिएपछि गुरुङ निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । निर्वाचन कार्यालयले गुरुङ निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन । १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले १ बजेपछि मात्र घोषणा गरिने कार्यालयले जनाएको छ ।
लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । यो क्षेत्रमा काँग्रेस, एमाले, माओवादी, नेकपा एस लगायत कुनै पनि दलका उम्मेदवार थिएनन् । काँग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गरेका थिए ।
गण्डकी प्रदेश सरकारमा खेलकुद मन्त्री रहेका मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताए पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
अघिल्लो चुनावमा एमालेको समर्थनमा प्रदेश सभा सदस्य चुनिएका गुरुङले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि खेलकुद मन्त्री थिए । पछि उनी एमाले नेतृत्वको सरकार छोड्दै नयाँ गठबन्धनतिर लागेपछि उहाँलाई काँग्रेस नेतृत्वको प्रदेश सरकारमा पनि खेलकुद मन्त्री बनाइएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९, १२:१८