काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा २ हजार ५ सयभन्दा धेरैको उम्मेदवारी परेकोमा ९ सयभन्दा धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हरेकजसो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारमध्ये केहीले चर्चित नेताको क्षेत्र त केहीले आफ्नै जन्म र कर्मथलोलाई रोजेका छन् । उनीहरू आफ्ना एजेन्डा राजनीतिक दलको भन्दा फरक र साँच्चै नागरिकका दुख समाधान गर्ने खालका भएको दाबी गर्छन् ।
झापा-२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका स्वागत स्वतन्त्र भएर चुनाव जित्दा दलले ह्विप लगाउन नमिल्ने भएकाले आम नागरिकका समस्या समाधान गर्न सजिलो हुने दाबी गर्नुहुन्छ । पेसाले अधिवक्ता समेत रहेका नेपाल स्वतन्त्र रूपमा उम्मेदवार बनेर जित्दा दलीय स्वार्थमा लाग्नु नपर्ने भएकाले नागरिकको हितमा काम गर्न सकिने बताउनुहुन्छ ।
यस्तै सिराहा-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार देवकुमार यादव पनि कुनै पनि दलको नभई नागरिकको प्रतिनिधि हुन सक्नु महत्त्वपूर्ण हुने बताउनुहुन्छ ।
स्वतन्त्र उम्मेदवारले राजनीतिक दल र नेताका कमी कमजोरी औँल्याउँदै र खास गरी युवा लक्षित चुनावी एजेन्डा बनाएका छन् । राजनीतिक दलहरूले नागरिकका दुःख घटाउनुको साटो विकृति र बेथिति बढाएकाले उनीहरूले धमिल्याएको राजनीतिक अवस्था सङ्लाउने तर्क स्वतन्त्र उम्मेदवार गर्छन् । ललितपुर ३ बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिनुभएका डा.तोषिमा कार्की व्यवस्था र व्यवस्थाबाट नेतृत्व परिवर्तन भए पनि आम नागरिकका आशा र अपेक्षा पूरा नभएकाले स्वतन्त्र उम्मेदवारी दिनुपरेको उहाँ बताउनुहुन्छ । दलहरुले आम नागरिकका अपेक्षा समाधान गर्ने गरी दलहरूले काम गरेको भए आफूहरूले स्वतन्त्र उम्मेदवारी दिनै नपर्ने उहाँको भनाइ छ ।
राजनीतिक दलमा पुस्तान्तरण हुन नसकेको, आसेपासे र नातागोतालाई अवसरमा प्राथमिकता दिने गरिएको, काम कम तर कुरा बढी गर्ने गरिएको जस्ता भोगाइका कारण कतिपय मतदाता स्वतन्त्र उम्मेदवारप्रति उत्साहित र आशावादी देखिन्छन् ।
तर, स्वतन्त्र उम्मेदवार बन्न जति सजिलो छ निर्वाचनमा विजयी हुन त्यो भन्दा धेरै कठिन रहेको भोगाई उम्मेदवारहरुको पनि छ । उम्मेदवार देवकुमार यादव आम नागरिकमा अझै पनि स्वतन्त्र उम्मेदवार र उम्मेदवारीप्रतिको दृष्टिकोण साँघुरै रहेको पाइएकाले निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई अझै पनि भरोसा गरिहाल्ने वातावरण बनेको नपाएको बताउनुहुन्छ ।
आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका लागि चुनौती र अवसर दुवै रहेको राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउनुहुन्छ । निर्वाचन आउन करिब एक महिना मात्र बाँकी रहेकाले स्वतन्त्र उम्मेदवारले आफ्ना एजेन्डा बताउन, मतदातालाई 'कन्भिन्स' गराउन निकै गाह्रो हुने उहाँको भनाइ छ ।
श्रोत साधन र नेटवर्क नहुनु तथा कतिपय स्वतन्त्र उम्मेदवार नयाँ भएकाले यो अवधिमा सबै मतदातासम्म पुगेर आफ्ना कुरामा मतदातालाई मनाउन सजिलो नभएको उहाँको बुझाइ छ । तर मेहनत गर्ने र रचनात्मक तरिकाबाट मतदातालाई विश्वासमा लिन सके यो चुनौती पार गर्न सके स्वतन्त्र उम्मेदवार विजयी हुन, राजनीतिक दललाई सच्याउन र वैकल्पिक राजनीतिको प्रभावकारी उपस्थिति स्थापित गर्न सक्ने खतिवडाको आँकलन छ ।
राजनीतिक दलका नेताप्रति रुष्ट बनेका नागरिकको समर्थन र गएको स्थानीय तहको निर्वाचनमा केही ठाउँमा स्वतन्त्र उम्मेदवारले पाएको सफलताले स्वतन्त्र उम्मेदवारलाई हौस्याएको पाइन्छ । तर, राजनीतिक दलको लामो इतिहास, सङ्गठन, कार्यकर्ता, खर्च गर्ने क्षमता अनि दलको घेराबाट बाहिर निस्कन नचाहने मतदाताको सनातनी मनोविज्ञानका कारण पनि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन जित्न उनीहरूले सोचेजस्तो सजिलो भने नभएको विश्लेषकहरूको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९, ११:२८