काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सरकारमा सहभागी चार जना मन्त्री पदमुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नुभएको हो ।
जसपाले चुनावका लागि नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले यी चार वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नुभएको छ ।
त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाउनुभएको छ । मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएका कारण कानुन मन्त्रालय मन्त्रीविहीन भएको थियो ।
यसैबिच मधेस प्रदेशमा जसपा बाहेकका दलका तर्फबाट मन्त्री बनेकाहरूलाई हटाउने तयारी गरिएको छ । सीआईएनसँग कुरा गर्दै मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट जसपा बाहेक सबै दलका मन्त्रीलाई पदमुक्त गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९, १९:२९