पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रवार (आज) पोखरामा हुँदै छ । क्रिकेट, फुटबल, हक्की, फेन्सिङलगायत केही खेल सुरु भइसके पनि प्रतियोगिताको आधिकारिक उद्घाटन भने आज हुन लागेको हो ।
उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएपनि उहाँलाई कोरोना सङ्क्रमण भएपछि उपराष्ट्रपति पुनले उद्घाटन गर्ने तय भएको हो । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैर आवासीय नेपाली सङ्घ एनआरएनए गरी ११ टोली प्रतिस्पर्धी छन् ।
प्रतियोगितामा ३६ खेलका लागि ११ टोलिका छ हजारभन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटनको सबै तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदको सर्वाधिक ठुलो प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक उत्साही देखिएका छन् । प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले प्रतियोगिताले प्याराग्लाइडिङलाई खेलको परिचय दिलाउनेमा विश्वस्त रहेको बताउनुभयो । पोखरा प्याराग्लाइडिङका लागि चर्चित ठाउँ हो ।
प्रतियोगिता मार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ढोका खोल्नु आफ्नो उद्देश्य रहेको गण्डकी प्रदेशका उसु खेलाडी स्माईल भण्डारीले बताउनुभयो । विभागीय टोलीबाट सहभागिता जनाउनेमा उच्च मनोबल देखिएको छ । विभागीय टिमका खेलाडीहरू राम्रो तयारी र नियमित अभ्यासका कारण धेरै खेलमा जीतका दाबेदार मानिएका छन् ।
धेरैजसो खेलाडी पर्याप्त तयारी गर्न नपाए पनि प्रतियोगिता भएकोमै खुसी छन् । प्रतियोगिता पोखरासहित गण्डकी प्रदेशका ८ जिल्लामा हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९, १२:०६