काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्धारितमध्ये तीन वटा निर्वाचन चिन्हमा निर्वाचन आयोगले हेरफेर गरेको छ ।
आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको 'हाम्रो नेपाली पार्टी' को निर्वाचन चिन्ह लौरो र अनुसूची—३० को खण्ड (क) मा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि राखिएको स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्ह अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचनमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।
आयोगमा अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख अनि निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले आयोगले हेरफेरको निर्णय गरेको हो ।
हरेफेर गरिएको चुनाव चिन्ह बारे विस्तृत विवरणः
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९, १५:३२