काठमाडौँ । नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण कात्तिक ११ गतेबाट हुने भएको छ । काठमाडौँमा हुने महोत्सवमा युरोपका १३ वटा र नेपालका तीन वटा नेपाली चलचित्र प्रदर्शन गरिने नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले जनाएको छ ।
काठमाडौँमा कात्तिक ११ देखि १५ गतेसम्म चल्ने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा युरोपका पाँच वटा र नेपालका तीन वटा चलचित्र प्रदर्शन गरिने छ । महाेत्सव चलचित्र विकास बोर्ड चाबहिलमा हुनेछ ।
यो वर्ष चलचित्र भौतिक र अनलाइन दुवै माध्यमबाट हेर्न पाइनेछ । कात्तिक ११ (अक्टोबर २८) मा भौतिक कार्यक्रमसहित अनलाइन कार्यक्रम समेत सुरु हुने र जुन मङ्सिर ११ (नोभेम्बर २८) सम्म उपलब्ध हुनेछ । अनलाइन चलचित्र महोत्सवमा नेपाली वृत्तचित्र गोर्खा गर्लसहित आठ चलचित्र उपलब्ध हुने आयोजक नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले जनाएको छ ।
‘‘दुई वर्षको अन्तरालपछि चलचित्र हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । चलचित्र सांस्कृतिक र बौद्धिक जीवनको अग्र भागमा रहन्छ र सांस्कृतिक आदान प्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहलाई हामी कसरी हेर्छौँ भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउन चलचित्र प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भन्नुभयो ।
महोत्सवमा नेपाली चलचित्रहरू ‘ऐना झ्यालको पुतली’ ‘येट अनदर विन्टर’ र ‘गोर्खा गर्ल्स’ प्रदर्शन गरिनेछ ।
महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षसँग सम्बन्धित तीन पूरक क्रियाकलाप पनि आयोजना हुनेछन् । कात्तिक १२ गते (२९ अक्टोबर) आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे चर्चा गरिनेछ । यो कार्यक्रम युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।
दोस्रो पूरक कार्यक्रम ‘चलचित्रले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तरक्रिया ह्युगो मेज र रोशनी अधिकारीले कात्तिक १३ गते (३० अक्टोबर)को नेपाली समय २ः०० बजे सञ्चालन गर्नुहुनेछ ।
कात्तिक १५ गते थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले सञ्चालन गर्ने कार्यक्रममा युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा सलग्नहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।
कात्तिक २२ गते सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीका लागि 'मास्टर क्लास' सञ्चालन गर्नुहुनेछ ।
महोत्सवअन्तर्गत भौतिक र अनलाइन मार्फत प्रदर्शन हुने चलचित्र निःशुल्क हेर्न सकिने छ । चलचित्र www.festivalscope.com/page/european-film-festival-nepal-2022/ मा गएर अनलाइनमार्फत हेर्न सकिनेछः महोत्सवबारे विस्तृत जानकारी
https://www.eeas.europa.eu/delegations/nepal/11th-edition-nepal-european-union-film-festival_en?s=237 मा उपलब्ध रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९, १७:१३