काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फतको प्रचारलाईलाई तीव्रता दिएका छन् ।
आआफ्नो निर्वाचन क्षेत्रको घरदैलो तथा सभासमारोहमा प्रत्यक्ष सहभागी हुनेक्रम नरोकिए पनि सामाजिक सञ्जालबाट मतदातासम्म पुग्ने अभियान गत वैशाखको अन्तिममा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपाली बढ्ने देखिएको छ ।
फेसबुक, टिकटक, टुइटरलगायतका सामाजिक सञ्जालमा उम्मेदवारहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, आफूलाई भोट दिन अनुरोध गर्ने तथा भोट माग्न कता जान लागेको भन्ने बारेमा जानकारी दिन थालेका विभिन्न सामग्री देख्न सकिन्छ ।
कुन पार्टी र नेताको कस्तो छ रणनीति ?
नेकपा एमाले
सामाजिक सञ्जालको प्रयोगमा तुलनात्मक रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियता अलि बढी देखिन्छ ।
सञ्चारमाध्यमसँगको अन्तर्वाताका लागि विचार, विश्लेषण गरेर मात्रै निर्णय लिने अध्यक्ष ओली पार्टीको कामको शिलशिलामा जहाँ पुगे पनि सर्वसाधारणका लागि भने सजिलै भेटिने, कुराकानी गर्ने, सेल्फी खिच्ने, खेलकुदको अभ्यास गर्नेलगायतका गतिविधिमा सक्रिय बन्नु भएको छ ।
ओलीको आधिकारिक फेसवुकपेज, ट्विटर, टिकटकमा पछिल्लो समयमा पिङ खेल्दै गरेको, सेल्फी खिच्दै गरेको, डाँडाकाँडाको दृश्यावलोकन गर्दै गरेको तस्वीर तथा भिडियो देखिन्छ ।
एमाले नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, राजन भट्टराई लगायतका नेताहरू पनि सामाजिक सञ्जालमा सक्रियता बढाइरहेका छन् ।
एमालेले आफ्नो पार्टीका उम्मेदवारले गरेका भाषण, पार्टीका कार्यक्रमको बारेमा जानकारी दिनका लागि हिजोदेखि ‘सूर्य खबर’ शीर्षकमा जानकारीमूलक श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा अपलोड गर्न थालिएको प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा सबैभन्दा धेरै सामाजिक सञ्जालमा सक्रिय नेता मानिनुहुन्छ ।
चुनावको घोषणा र गोरखाबाट टिकट निश्चित भएपछि उहाँको फेसबुक र ट्विटरमा पछिल्लो समयमा गोरखामा घरदैलो अभियान गरिरहेको, सत्ता गठबन्धनका कार्यक्रममा सहभागी भएर विचार राखिरहेको देखिन्छ ।
प्रचण्ड प्रधानमन्त्री भएदेखि हालसम्ममा भए, गरेका कामको बारेमा सामग्री पनि उहाँको सामाजिक सञ्जालको अकाउन्टमा अपलोड हुन थालेको छ ।
माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, ओनसरी घर्तीलगायतका नेताहरूले पनि प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा विभिन्न सामग्री राख्दै आएका छन् ।
नेपाली काँग्रेस
नेपाली काँग्रेसमा भने सभापति शेरबहादुर देउवाभन्दा अरु नेताहरूको सक्रियता सामाजिक सञ्जालमा बढी देखिन्छ ।
देउवाको आधिकारिक फेसबुक र ट्विटर अकाउन्ट भए पनि यो सामग्री तयार पार्दासम्म विभिन्न दिवसको अवसरमा दिइएका शुभकामना सन्देश तथा महत्वपूर्ण व्यक्तिको निधनमा श्रद्धाञ्जली दिइएको पाइन्छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापालगायतका नेता भने फेसबुक र ट्विटरमा चुनावी गतिविधिका बारेमा क्षणक्षणमा जानकारी गराराउँदै आउनुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, बेदुराम भुसाल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री लगायतको पनि सामाजिक सञ्जालमार्फतको प्रचारप्रसारमा जोड देखिएको छ ।
प्रमुख ठूला दलले आआफ्नो पार्टीको सूचना प्रविधि विभागलाई चुनावी प्रचारप्रसारमा खटिन निर्देशन दिएका छन् ।
‘यी विभागभन्दा पनि नेताहरूले आआफूले चिनेजानेका पत्रकार, प्रविधिका विज्ञबाट सहयोग लिइरहेको भेटिन्छ । कतिपयले चुनावी समयावधिका लागि मात्रै भए पनि टिम परिचालन गरेका छन् ।’ एक सञ्चार अनुसन्धाताले भने ।
राप्रपा, राप्रपा नेपालका नेताहरूले पनि चुनावी प्रचारप्रसारका लागि फोटो, भिडओ सामाजिक सञ्जालमा दिनहुँ राख्ने गरेका छन् ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी लगायतका दलका नेता पनि सामाजिक सञ्जालमा सक्रिय त छन् तर उनीहरूको तुलनामा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले सामाजिक सञ्जाललाई प्रचारप्रसामा बढी प्रयोग गर्न खोजिएको जानकारहरू बताउँछन् ।
सामाजिक सञ्जालबाट हुने चुनावी प्रचारप्रसारका सबल र दुर्बल पक्ष
उज्वल आचार्य, मिडिया अनुसन्धानकर्ता
उम्मेदवारहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव प्रचारप्रसार गर्नेक्रम बढ्दो देखिएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव प्रचारप्रसार र विज्ञापन गर्दा त्यसका फाइदाहरू पनि छन् ।
सामाजिक सञ्जालको प्रयोग गरेर आफूले चाहेका मतदातासमक्ष मात्रै पुग्न सकिन्छ ।
उमेर समूहमा मात्रै पुग्न सकिन्छ भने पेशागत समूहहरूसँग मात्रै पनि सम्पर्क स्थापित गर्न सकिन्छ ।
यो भनेको सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दाका सबल पक्ष हुन् । यसको दुर्बल पक्ष भनेको अनुगमन गर्न गाह्रो छ ।
अनुगमन नहुँदा सामाजिक सञ्जाललाई राम्रोसँग प्रयोग गर्न सक्नेले अन्य उम्मेदवारभन्दा बढी फाइदा लिन सक्ने अवस्था हुन्छ । यसमा निर्वाचन आचारसंहिता वा निर्वाचन कानुनले तोकेको सीमाभन्दा बाहिर गएर खर्च र प्रचारका गतिविधि पनि हुन सक्ने चुनौती हुन्छ ।
कसले के गरिरहेको छ ? कताबाट पैसा तिरिरहेको छ ? के भइरहेको छ ? लगायतका विषय थाहा नहुन सक्छ ।
नेपालबाट पैसा नतिरेर अरु मुलुकबाट लगानी गरेर पनि प्रचारप्रसार गर्ने हुँदा त्यसले आर्थिक भारको कुरा पनि आउँछ ।
प्रचारप्रसार गर्न नपाइने मौन अवधिको समयमा पनि उम्मेदवारहरूले आफ्ना समर्थहरूलाई भनेर विज्ञान गर्ने तथा प्रचारप्रसार गर्ने काम व्यापक गर्छन् ।
अनुगमन नहुँदा सामाजिक सञ्जाललाई राम्रोसँग प्रयोग गर्न सक्नेले अन्य उम्मेदवारभन्दा बढी फाइदा लिन सक्ने अवस्था हुन्छ ।
यसमा निर्वाचन आचारसंहिता वा निर्वाचन कानुनले तोकेको सीमाभन्दा बाहिर गएर खर्च र प्रचारका गतिविधि पनि हुन सक्ने चुनौती हुन्छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९, ०७:२६