सल्यान । अरिङ्गालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालका २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो साँझ खेतमा धान काटेर घर फर्कने क्रममा अकस्मात आएको अरिङ्गालले तीन जनालाई टोकेको थियो ।
घाइते आमाछोरीको सल्यान श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको हो ।
आमाको भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्नेक्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नविन बस्नेतको श्रीनगरस्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९, ११:३८