इटहरी । सुनसरी–३ काँग्रेसका विजयकुमार गच्छदार र भगवती चौधरी तेस्रो पटक एक अर्कोसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघिका दुई वटा निर्वाचनमा गच्छदारलाई आच्छु आच्छु पारेकी चौधरी यस पटक चुनाव जिती छोड्ने तयारीका साथ लागेको बताउनुहुन्छ तर सातौँ पटक उम्मेदवार बनेका र २०४८ सालदेखि लगातार शक्तिमा रहेका गच्छदारलाई हराउन चौधरीलाई सजिलो भने छैन ।
२०४८ सालयता कुनै पनि निर्वाचनमा हार बेहोर्न नपरेका गच्छदार यस पटक पनि विजयी हुँदै राजनीतिक ‘विरासत’ कायमै राख्ने रणनीतिमा हुनुहुन्छ । तर, एमालेकी भगवती चौधरी फेरि एक पटक बलियो प्रतिस्पर्धी बन्नुभएको छ ।
विगतको कडा टक्कर र वर्तमानका सजिला अप्ठ्यारा
यो क्षेत्रबाट गच्छदार यसअघि ३८ हजार ९७२ मत ल्याएर विजयी हुनुभएको थियो भने भगवतीले ३८ हजार ६५१ मत पाउनुभएको थियो । २०७० सालको निर्वाचनमा गच्छदारले चौधरीलाई तीन सय ६२ मतले मात्र हराउनुभएको थियो ।
२०२७ सालदेखि पार्टी राजनीतिमा सक्रिय र २०४८ सालयता निरन्तर शक्तिमा रहँदै आएका गच्छदारलाई ललिता निवास जग्गा प्रकरणसम्बन्धी अदालतमा मुद्दा विचाराधीन रहनु, काँग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापतिमा पराजित हुनु, सधैँ आफ मात्र उम्मेदवार बन्नु र कार्यकर्तालाई काखा पाखा गर्नुजस्ता कारणले पार्टीभित्रै पनि असन्तुष्टि छ । मतदाताले यस पटक छनोट खोज्ने मनोविज्ञानमा रहेको कुरालाई एमाले उम्मेदवार चौधरीले रणनीतिका रूपमा अघि सार्नुभएको छ ।
पुराना सहयोगी प्रदीप चौधरीले स्वतन्त्र उम्मेदवारी दिनु गच्छदारका लागि अर्को चुनौतीको विषय हो । यस पटक एमालेले जसपा सँग गठबन्धन गरेको छ भने काँग्रेसका गच्छदारलाई माओवादी, नेकपा एस, लोसपालगायत दलको समर्थन छ । गच्छदार पक्षका नेता काँग्रेस एक्लै उम्मेदवार हुँदा विजयी भएका गच्छदार यस पटक सत्तारुढ गठबन्धनको साथ भएकाले जितका लागि झन् सजिलो भएको दाबी गर्छन् । चौधरी पनि एमालेबाट मात्र उम्मेदवार हुँदा नै बलियो रहेकोमा जसपाको समर्थनले थप सहयोग पुग्ने भन्दै हौसिएका छन् ।
यस पटक गच्छदार सधैँ जस्तो बलियो नभएको र नागरिक पनि परिवर्तनको पक्षमा भएकाले यस पटक चौधरी विजयी हुने निवर्तमान प्रदेश सांसद समेत रहेका क्षेत्र नं. ३ का एमालेका चुनावी कमान्डर निलम बस्नेतले दाबी गर्नुभयो । तर काँग्रेस क्षेत्र नं. ३ का सभापति मेहदी हुसेन एक्लै लड्दा छ पटक चुनाव जितेको व्यक्तिलाई यस पटक गठबन्धन हुँदा कुनै समस्या नहुने बताउनुहुन्छ ।
गच्छदार आफ्नो ५० वर्षे राजनीतिक र सामाजिक छवि समाप्त पार्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्वक आफूलाई फसाएको आरोप लगाउँदै मत माग्न व्यस्त हुनुहुन्छ । अर्कातिर लामो समयदेखि पार्टीभित्र एउटै व्यक्ति सात पटकसम्म चुनावमा प्रतिस्पर्धा गर्दा यस क्षेत्रका नेता असन्तुष्ट छन् । ललिला निवास जग्गा प्रकरणमा मुछिनुले पनि गच्छदारलाई कमजोर बनाएको छ ।
उसो त यसअघि दुई पटकका निर्वाचनमा जस्तो एमालेका नेता–कार्यकर्ता पनि सङ्गठित नरहेको काँग्रेसको आँकलन छ । दुहवीमा लघुवित्तमार्फत समुदायमा काम गर्दै आएकी चौधरीको व्यक्तिगत प्रभाव केही हदसम्म घटेको ठान्नेहरू पनि छन् ।
गच्छदार २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा अहिलेको क्षेत्र नं. ३ मा पर्ने क्षेत्र समेत समेटिएको क्षेत्र नं. २ बाट विजयी हुनुभएको थियो । उहाँ २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालबाट क्षेत्र नं. ३ बाटै र त्यसपछिका दुई वटा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा इटहरी र खनार क्षेत्रका वडा क्षेत्र नं. २ मा थिए । क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका १० वटा वडासहित दुहबी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ । इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ ।
तटस्थ मत निर्णायक
सुनसरी क्षेत्र नं. ३ मा एक लाख २५ हजार ४३२ जना मतदाता छन् । यस पटक क्षेत्र नं. ३ मा तटस्थ मतलाई कसले बढी प्रभाव पार्न सक्छ जित्ने सम्भावना उसैको बढी हुने देखिएको छ । यो क्षेत्रमा ग्रामीण बस्ती तथा आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई अन्तिम समयमा आर्थिक प्रभावमा पार्ने गरिएको छ ।
यो क्षेत्रमा प्रदेश सभातर्फ क बाट विपक्षी गठबन्धनका तर्फबाट एमालेका रोहित कार्की र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी सरस्वती पोखरेल तथा ख बाट एमालेकै रामदेव यादव र काँग्रेसका विन्देश्वर यादव उम्मेदवार हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९, १६:०९