काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मत माग्दै घरदैलो अभियानमा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरूले विकासे आश्वासनसहित लगाउँदै चुनावी प्रचार थालेका छन् । तर, समाजमा अन्त्य हुन नसकेको सामाजिक कुरीतिका विषय भने उम्मेदवारको प्राथमिकतामा पर्न सकेका छैनन् ।
जातीय विभेद केही कम हुँदै गए पनि पूर्ण रूपमा अन्त्य नभएको बैतडीको पाटन नगरपालिकाका कर्बे सार्कीको अनुभव छ । तर, राजनीतिक दल र उम्मेदवारको चुनावी एजेन्डामा यो विषय कहिल्यै प्राथमिकतामा नपर्ने सार्कीको भनाइ छ । जनताको भोट तान्न विभिन्न आश्वासन बाँड्ने र विकास निर्माणको सपना देखाउनु दल र उम्मेदवारको पुरानै चलन हो । आर्थिक विकास र समृद्धिको नारालाई जोडतोडका साथ अघि सारिरहँदा विभेदलगायत सामाजिक कुरीतिहरू अन्त्य गर्ने कुरालाई राजनीतिक दल र उम्मेदवारले प्राथमिकता नदिएकोमा दाङको तुलसीपुरका तुलसी थापाको पनि असन्तुष्टि छ ।
उम्मेदवार भने सामाजिक कुरीति र कुसंस्कार अन्त्यको विषय आफूहरूको प्राथमिकतामा पर्ने दाबी गर्छन् । दोलखाबाट प्रतिनिधि सभामा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटी सामाजिक कुरीति अन्त्यका लागि थप कानुन निर्माण गर्न आफ्नो योगदान रहने दाबी गर्नुहुन्छ ।
उहाँ मात्रै होइन अछाम– १ को ‘क’ बाट प्रदेश सभामा उम्मेदवार रहेका नेपाली काँग्रेसका मेघराज खड्का पनि सामाजिक कुसंस्कार अन्त्यका लागि प्रतिबद्ध रहेको दाबी गर्नुहुन्छ । उम्मेदवारले निर्वाचनका बेला पूरा गर्न सकिने नसकिने सबै सपना देखाउँछन् । तर, निर्वाचित भएपछि वा पराजित भए पनि ती विषय सम्बोधन गर्न ध्यान दिँदैनन् भन्ने आम नागरिकको भोगाइ छ । छुवाछुत लगायतका कतिपय मुद्दामा नेताहरूकै दबाबका कारण न्याय नपाएको पीडितले गुनासो गर्ने गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषा–३ ‘ख’ मा प्रदेश सभा उम्मेदवार परमेश्वर साह पनि समाजमा रहेको विभेद र कुरीति अन्त्यको विषयलाई चुनावी एजेन्डामा समेटेको दाबी गर्नुहुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा अधिवक्ता माेहना अन्सारी दलहरूले सामाजिक विभेद अन्त्यको मुद्दाभन्दा पनि भाैतिक विकासका कुरा र पूरा गर्न नसक्ने सपनामा नागरिकलाई भुलाउने गरेको बताउनुहुन्छ । जातीय र लैगिक विभेद, समाजमा रहेका कुरीतिहरू अन्त्य गर्ने सन्दर्भलाई राजनीतिक दल र उम्मेदवारले पनि प्राथमिकतामा नराख्दा चुनावमा पनि यस्ता विषयबारे बहश हुन नसकेको उहाँको भनाइ छ ।
निर्वाचनका समयमा मतदाताको सक्रियता निकै महत्त्वपूर्ण कुरा हो । त्यसैले मत माग्न आउने उम्मेदवारलाई विभेद र कुरीति अन्त्यका लागि उनीहरूको योजना र प्राथमिकता के छ भन्ने सोध्नुपर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९, १२:४६