पोखरा । गण्डकी प्रदेशका ६ जिल्लामा ६ दिनसम्म सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैर आवासीय नेपाली सङ्घ, गरी ११ टोलीका ६ हजारभन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा नेपाली सेनाले सबैभन्दा धेरै ३७१ पदक जित्यो । सेनाले १७२ स्वर्णसहित ११० रजत र ८९ कांस्य सहित ३७१ पदक हात पारेको हो । यस्तै दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण ७३ रजत र ८१ कांस्य गरी २१९ पदक हात पार्यो ।
तेस्रो स्थानमा रहेको अर्को विभागीय टिम नेपाल पुलिस क्लबले ६१ स्वर्ण, त्यति नै रजत र ७३ कांस्य सहित १९५ पदक जित्यो । चौथो स्थानमा रहेको घरेलु प्रदेश गण्डकीले ३२ स्वर्णसहित १२० पदक जित्दा बागमती प्रदेशले २४ स्वर्णसहित १४५ पदक हात पार्यो ।
यसै गरी प्रदेश १ ले १० स्वर्णसहित ८३ पदक आफ्नो पोल्टामा पार्यो भने सुदूरपश्चिम प्रदेशले १० स्वर्णसहित ६३ पदक जित्दा गैर आवासीय नेपालीहरूका तर्फबाट खेलेका खेलाडीले १० स्वर्णसहित २६ पदक जिते । लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८ पदक जित्दा मधेस प्रदेशले ५ स्वर्णसहित ३९ पदक जित्यो ।
यसै गरी कर्णाली प्रदेश २ स्वर्णसहित १८ पदक जित्दै तालिकाको पुछारमा रह्यो । नेपाली सेना लगातार तेस्रो पटक सबैभन्दा बढी पदक जित्ने टोली बनेको हो ।
प्याराग्लाइडिङमा नेपाली सेनाका तर्फबाट प्रतिस्पर्धा गरिरहेका बेला निसिम थापाको निधन भयो । जुन, प्रतियोगिताको सर्वाधिक दुःखद र विर्सनयोग्य घटना बन्न पुग्यो । पोखरा रङ्गशालामा निसिमको सालिक राखिने भएको छ ।
सँधै जस्तै, यस पटक पनि व्यवस्थापनको भद्रगोल, प्रचारको अभाव, खेलाडीको तयारी अभाव जस्ता समस्याहरू भने ज्युँ का त्युँ नै देखियो ।
यस पटक पनि विभागीय टिमको वर्चस्व, प्रदेशका खेलाडीको कमजोर चुनौती र धेरै खेलाडीले आफ्नै बलबुतामा तयारी गरेर प्रतियोगितामा आएका थिए । प्रतियोगितामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी तीन वटा विभागीय टोली सामु अन्य टोलीका खेलाडी कमजोर देखिए ।
दुई वर्ष पछि कर्णाली प्रदेशमा भेट्ने वाचासहित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भए पनि निर्धारित समयमा विरलै हुने गरेकाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले होला भन्ने संशय भने कायमै छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९, १९:१३