दाङ । फूल खेती गरेका दाङका किसानलाई यति बेला टिपेर माला गाँस्न भ्याइ नभ्याई छ । तिहारका लागि तयार पार्नुपर्ने भएकाले किसानलाई यति बेला फूल टिप्ने र माला उन्ने धपेडी बढेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढामगरले तिहारका लागि फूलको माला गाँस्न सुरु गरिसक्नुभयो । माला तयार पारेर कोल्ड स्टोरमा राख्ने र केही दिन पछिदेखि बजारमा पुर्याउने उहाँको तयारी छ । उहाँले ६ वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आउनुभएको छ ।
घोराही– १४, झिगौरामा लोकेन्द्र रोका मगर पनि यति बेला सयपत्री फूल टिपेर माला उन्न व्यस्त हुनुहुन्छ । सात वर्ष कतारमा बिताएका रोकाले नेपाल फर्केर फूल खेती थाल्नुभएको हो । फूल खेतीबाटै कतारमा गर्ने आम्दानी गर्न सक्ने देखेपछि उहाँले व्यावसायिक फूल खेती थाल्नुभएको हो ।
दाङमा वार्षिक ५० लाखभन्दा धेरै रुपैयाँको फूलको कारोबार हुने गरेको छ । फूल खेतीबाट रोजगारी र राम्रो कमाइ हुने देखेपछि नगर युवा सञ्जाल तुलसीपुरमा आबद्ध युवाले पनि फूल खेती गर्दै आएका छन् ।
तुलसीपुर–१ को भमके तथा तुलसीपुर–८ को अश्वारा र दुधेना कृष्ण मन्दिरनजिक गरी नौ कट्ठाभन्दा बढी जग्गामा फूल खेती गरिएको नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारी बताउनुहुन्छ । जिल्लामा फूल खेती बढेसँगै फूल र मालाका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको छ ।
यसले फूलका लागि बिदेसिने रकम जिल्लामै रोकिएको मात्र छैन रोजगारी र आम्दानी पनि बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९, ११:३९