काठमाडौँ । गएको असोज तेस्रो र अन्तिम साता कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षति बारेमा अध्ययन सुरु भएको छ । अध्ययनका लागि पुगेको टोलीले शुक्रबारबाट काम सुरु गरेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालिकोटमा भएको क्षतिको प्रारम्भिक अध्ययनका लागि वरिष्ठ इञ्जिनियरहरूको नेतृत्वमा चार वटा टोली परिचालन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो ।
सबै टोलीले आफू खटिएको जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी क्षति भएको जिल्लाका सबै पालिकाका निजी घर, टहरा, सरकारी तथा गैरसरकारी निकायका भौतिक संरचनाको क्षति अनुमानसहित अध्ययन गर्नेछन् । टोलीले स्थानीय तहका जनप्रतिनिधि र त्यहाँ कार्यरत प्राविधिकहरूसँग समन्वय गरेर समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छन् ।
मन्त्रीपरिषद् बैठकले गत असोज २८ गते हुम्ला, जुम्ला, मुगु र कालिकोटका बाढी पहिरो प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ अनुसार बाढी पहिरोबाट पूर्ण रुपमा आवास क्षति भएका प्रभावितले हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईमा ३ लाख रुपैयाँसम्म राहत पाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९, १२:०३