काठमाडौँ । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी ट्वेन्टी विश्वकपबाट बाहिरिएको छ । शुक्रवार भएको खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको दाबेदारी यस पटकका लागि सकिएको हो ।
आयरल्यान्ड भने प्रतियोगिताको सुपर १२ मा पुगेको छ ।
१ सय ४७ रनको लक्ष आयरल्यान्डले १७ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । आयरल्यान्डका पउल स्टर्लिङले नट आउट ६६ रन र लोर्कान टर्करले नट आउट ४६ रन बनाउँदै टोलीलाई जित दिलाएका हुन् । अस्ट्रेलियाको होबार्टमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । वेस्ट इन्डिजका ब्रेन्डन किङले नट आउट ६२ रन बनाएका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।
वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी ट्वेन्टी विश्वकप क्रिकेटको विजेता टोली हो । स्कटल्यान्ड र जिम्बावेको खेलको नतिजाले समुह विजेता र उप विजेता तय हुनेछ । समूह एबाट भने श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा पुगिसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९, १४:३४