जुम्ला । बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा कर्णाली प्रदेशका पाँच जिल्लामा उपभोग्य बस्तुको अभाव हुन थालेको छ । कर्णाली राजमार्ग असोज १९ गतेदेखि अवरुद्ध हुँदा माथिल्लो कर्णालीका जिल्लामा समस्या सुरु भएको छ । दैनिक उपभोग्य सामग्रीको ढुवानी नहुँदा उपभोक्ता मारमा परेका छन् भने गाडी नचल्दा यात्रु अलपत्र परेका छन् ।
बाढी पहिरोका कारण कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लाको जीवन मार्ग मानिएको कर्णाली राजमार्ग अवरुद्ध हुँदा यस्तो समस्या देखिएको हो । दैलेखको दही खोलादेखि मुगुसम्म ठाउँ ठाउँमा सडक भत्किएको छ भने ठाउँठाउँमा ठुला ठुला पहिरोले सडक अवरुद्ध छ ।
अवरुद्ध रहेको नाग्म गमगढी सडक खुलाउन रातदिन काम भइरहेको र अब सडक खुलाउने काम २५ प्रतिशत बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो ।
दसैँपछिको अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायत प्राकृतिक विपदबाट कर्णालीमा ३७ जना नागरिकले ज्यान गुमाएका छन् । जसमा जुम्लाका १० जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोले मार्सी धान फल्ने खेतका फाँटहरू बगर बनाएको छ ।
सरकारले जुम्लासहित पाँच जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोले विपद् जोखिम तथा क्षति कम र व्यवस्थापनमा सघाउ पुग्ने आशा गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । यसैबिच, सरकारले कर्णालीमा बाढी पहिरोबाट भएको क्षतिको बारेमा अध्ययन सुरु गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९, १४:११