काठमाडौ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । विगतमा काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन हिजो काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।
आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
गाईपूजा भने भोलि परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।
तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९, ०७:१४