काठमाडाैँ । जीव विज्ञहरूका अनुसार, संसारमा सबैभन्दा पहिला मानिसको पाल्तु जीव कुकुर हो । हिन्दु धर्मग्रन्थमा यमराजको द्वारपालेका रूपमा पनि कुकुर रहेको प्रसङ्ग छ । आदिम कालदेखि मानिससँगै रहँदै र मानिसको सहारा बन्दै आए पनि कुकुरलाई हेर्ने सबै मानिसको दृष्टिकोण भने राम्रो पाइँदैन ।
मानिससँग निकट, मानिसका लागि उपयोगी र मानिसप्रति बफादार रहेर पनि कुकुर निकै हेलाँ होचो सहने जनावर हो । सहरमा खानाका लागि भाैतारिइरहनु मानिसको कुटाइ र हेपाइ सहनु र सडकमै जिवन बिताउनु हजारौँ कुकुरको दैनिकी हो । मानिसको सहारा बनेका कुकुर, सहरका सडकमा मानिसकै सहारा खोजिरहेका अवस्थामा भेटिन्छन् । तर केही ‘भाग्यमानी’ कुकुरले भने असल मानिसको सहारा पाएका छन् ।
ललितपुर कुपण्डोलको एउटा टहरोको गेट उघ्रनासाथ एक हुल कुकुर भुक्दै झम्टिन आई पुग्छन् । मच्चिएर भुकिरहेका कुकुर इन्दु महर्जनले थुमथुम्याएपछि हच्किन्छन् । कुकुरहरू इन्दुको भाषासँग परिचित छन् । इन्दुलाई पनि कुकुरको भाषा बुझ्न कुनै समस्या छैन ।
हुन पनि १७ वर्ष भयो, राम र इन्दुको दैनिकी कुकुरसँग जोडिएको । अब त भाषा मात्र होइन, उहाँहरू एक अर्काका सुख, दुःख र भावना पनि बुझ्नुहुन्छ । इन्दुले यति बेला सडकबाट घरमै ल्याएर स्याहारेका कुकुर २९ वटा छन् । ललितपुर कुपण्डोल क्षेत्रका ९० वटा कुकुर पनि इन्दुकै सहारामा बाँचिरहेका छन् ।
टहरामै बनाइएको एक कोठामा राखिएका दुई वटा खाटमा डसना ओछ्याएर उनीहरूका लागि सुत्ने कोठा बनाइएको छ । तै पनि केही कुकुर चाहिँ इन्दुसँगै सुत्न जान्छन् । उनीहरू छुट्टिएर बस्नै नचाहने भएकाले आफूसँगै सुताउने इन्दु बताउनुहुन्छ । आफू बिरामी भएका बेला एक दुई दिन आफू बाहिर ननिस्कँदा उनीहरू निस्ताउने गरेको उहाँ बताउनुहुन्छ ।
बेवारिसे कुकुरको स्याहार गर्दा मिल्ने सन्तुष्टिको कुनै लेखाजोखा नै नभएको इन्दु बताउनुहुन्छ । केही दिन अघि एउटा कुकुर सिकिस्त बिरामी भयो । ओल्टाई पल्टाइ गरिदिनुपर्ने भएपछि इन्दु कुकुरसँगै सुत्नुभयो । रातभरि पटक पटक उठ्दै कुकुरलाई कोल्टे फेराउँदै रुँगे पनि अस्पतालै लैजानु पर्यो । सरकारी अस्पतालमा ठिक नभएपछि नीजि अस्पताल लगियो । तर, कुकुरलाई बचाउन सकिएन । करिब ५० हजार जति खर्च भयो । तर, चिन्ता खर्चको भन्दा पनि कुकुरलाई बचाउन नसकिएकोमा बढी छ इन्दुलाई ।
राम पेसाले मोटर मर्मत गर्ने मिस्त्री हुनुहुन्छ । इन्दुको पुरै समय कुकुरकै रेखदेखमा बित्छ । उहाँहरूका दुई छोराछोरी पनि कुकुरलाई उत्तिकै माया गर्ने इन्दुले जानकारी दिनुभयो । खर्च व्यवस्थापन निकै चुनौतीपूर्ण भए पनि अहिलेसम्म चाँजोपाँजो मिलिरहेकै छ ।
कुपण्डोलकै रैथाने भए पनि घरायसी कारण र भूकम्पका कारण घर भत्किएपछि उहाँहरू टहरामा मोटर मर्मत गरेर जीविका चलाइरहनुभएको छ । तर आफूलाई समस्या भयो भनेर कुकुरलाई छोड्ने कुरा पनि भएन । उहाँहरूले टहरामा पनि कुकुरलाई सँगै लिएर जानुभएको छ । इन्दु र रामको परिवार आफ्नो दुख बिर्सिएर, कुकुरका दुःख भुलाउन जुटिरहेको छ ।
मानिसले रोग र भोकले थलिएका कुकुर देख्दा पनि माया नगर्ने गरेकोमा दुख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । यही कुराले इन्दुलाई पोलिरहन्छ । सबैले माया गरे त कुकुर सडकमा दयनीय अवस्थामा बाँच्नुपर्ने थिएन भन्ने लाग्ने उहाँले बताउनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २९० मा पशुपन्छीमाथि क्रूर व्यवहार देखाउन नहुने उल्लेख छ । त्यस्तो गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर बेवारिसे कुकुरको संरक्षण र व्यवस्थापन हुन नसकेको देखेर इन्दुलाई दिक्क बनाउँछ । ‘मेरो सपना त सडकका सबै कुकुरलाई सँगै राखौँ भन्ने छ नि’, इन्दु आशावादी बन्दै सुनाउनुहुन्छ, ‘हेरौँ के हुन्छ ?’
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९, १७:३५