काठमाडौँ । नेपाली काँग्रेसले आइतबार बिहान साँझ ५ बजे चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्ने बताएको थियो । तर साँझमा कार्यक्रम स्थगित गरेर सोमवार बिहान साढे १० बजेका लागि सारिएको काँग्रेसले जनायो । फेरि, सोमवार बिहान पनि घोषणापत्र सार्वजनिक भएन बरु, सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम फेरि तिहारपछिका लागि सरेको विज्ञप्ति आयो ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउनुभयो । अब ढिलोमा १२ गतेसम्म सार्वजनिक गर्ने सङ्कल्प प्रस्ताव लेखन समिति सदस्य सह महामन्त्री जीवन परियारको भनाइ छ ।
नेकपा एमालेले पनि आइतबार वा सोमवार घोषणा पत्र सार्वजनिक गर्ने बताए पनि नेताहरूले तिहारपछि मात्र घोषणापत्र ल्याउने बताएका छन् । एमाले नेताहरूका अनुसार घोषणापत्रबारे प्राप्त सुझाव अझै अध्ययनकै क्रममै रहेको र धेरै सुझाव आएकाले घोषणापत्र सार्वजनिक गर्नमा ढिलाइ भएको बताएका छन् ।
नेताहरूका अनुसार २९ असोजमै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रलाई अन्तिम रूप दिनुभएको थियो । तर, त्यसपछि आएका सुझावलाई पनि समेट्न खोजिएको नेताहरूको भनाइ छ ।
नेकपा माओवादी केन्द्र पनि काँग्रेस र एमालेको घोषणापत्र कहिले आउँछ भनेर पर्खिरहेको छ । उनीहरूको घोषणापत्र सार्वजनिक भएपछि जनस्तरबाट आउने टिप्पणीलाई समेत समेटेर आफ्नो घोषणापत्र ल्याउने तयारी माओवादी केन्द्रको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणापत्र लेखन समितिका सदस्यहरूले नै यही सुझाव दिएको नेताहरू बताउँछन् । अन्य दलले पनि घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९, १३:४४