काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । विहीबार नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जित हात पारेको हो ।
१८० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सलाई कम योगफलमै समेट्न भारतका अर्सदिप सिंह, रविचन्द्रन आश्विन र भुवनेश्वरकुमारले २/२ विकेट लिए । नेदरल्यान्ड्सका टिम प्रिन्गलले बनाएको २० रन नै सर्वाधिक रह्यो ।
पहिले ब्याटिङ गरेको भारतका लागि तीन जना खेलाडीले अर्धशतक पुरा गरे । विराट कोहली ६२ र सुर्यकुमार यादव ५१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ५३ रन बनाए । आक्रामक ब्याटिङ गरेका सुर्यकुमारले मात्र २५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
अर्को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हरायो । २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले फराकिलो जित हात पारेको हो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन बनाए ।
दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले रिली रस्सोको १ सय ९ र क्विन्टन डी ककको ६३ रनको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । जितसँगै समूह २ को दक्षिण अफ्रीकाले २ खेलमा ३ अंक बनाउँदै समूहको शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९, १६:२४