काठमाडाैँ । नेपाली कांग्रेसले प्रदेस र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसकाे मुख्य कार्यालय ललितपुरको सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारी र घोषणापत्र लेखन समितिका सदस्यहरुले शनिबार घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घाेषणापत्रमा कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाएकाे छ । घोषणा पत्रमा भनिएको छ-‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुन सक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’
कांग्रेसले घाेषणापत्रमा आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो । घोषणापत्रमा भनिएको छ, 'व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ ।'
नेपालमा रोजगारीका पाँच ठूला क्षेत्र कृषि, थोक तथा खुद्रा बिक्री, उत्पादनमूलक उद्योग, निर्माणमा र शिक्षा रहेको भन्दै कांग्रेसले आगामी पाँच वर्षमा नयाँ रोजगारीका क्षेत्र पहिचान गर्ने र त्यसमा अवसर सिर्जना गर्ने बताएकाे छ ।
नेपालमा वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने तर, २०७७-०७८ मा दर्ता भएका २ सय ३ नयाँ उद्योगले जम्मा ११ हजार ८ सय ३३ रोजगारी मात्र प्रस्तावित गरेको र लोकसेवा आयोगले जम्मा ३ हजार ७ सय ५४ जनाको विज्ञापन गरेकाे भन्दै यो अवस्थामा लाखौंको संख्यामा मर्यादित रोजगारी सृजना गर्न ठूलाे संरचनात्मक पहल चाहिने भएकोले नेपाली कांग्रेसले आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत अड्चनलाई व्यापक नयाँ चरणको सुधार गर्दै न्युनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको घाेषणापत्रमा उल्लेख गरिएकाे छ ।
घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने उल्लेख छ। यस्तै ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने कांग्रेसले बताएकाे छ । यस्तै बिमा रकमको दायरा बढाई १० लाख पुर्याइने र अति विपन्न, एकल महिलालगायतको विमाबापतको प्रिमियम पनि सरकारले नै तिरिदिने घोषणापत्रमा उल्लेख गरिएकाे छ ।
यस्तै सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन नगर्ने र गर्न पनि नदिने, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने, कानुनको सीमा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय र काम नगर्नेलगायत घोषणा पत्रमा उल्लेख गरिएकाे छ।
यस्तै, राष्ट्रिय गौरबका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने, कृषि मल कारखानाको स्थापना गर्ने
आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पुर्याउने, सुरक्षित घरमा बस्ने परिवार सङ्ख्या ५५ प्रतिशत पुर्याउने, विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेगावाट पुर्याउने, ४ सय केभीएको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, वार्षिक २० लाख पर्यटक भित्र्याउने र दैनिक पर्यटक खर्च १ सय डलर पुर्याउने, तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर बनाउने, विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत पुर्याउने र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पहुँच पुर्याउने जस्ता महत्त्वकांक्षी घोषणा पनि कांग्रेसले गरेको छ ।
सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदमा विषयगत योग्यता र निश्चित मापदण्डका आधारमा गर्ने, सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले वर्षेनी सम्पत्ति विवरण सार्वजनिक गर्ने, नागरिकलाई झन्झटरहित सार्वजनिक सेवा उपलब्ध गराउनेलगायत कुरा घाेषणाापत्रमा उल्लेख गरिएको छ ।महामन्त्री तथा घाेषणापत्र लेखन समितिका संयाेजक विश्वप्रकाश शर्माले सार्वजनिक भएको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताउनुभयो । महामन्त्री शर्मा नेतृत्वमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा स्वर्णिम वाग्ले र डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत ४१ सदस्यीय समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेकाे हाे ।
त्यसमा केही सुझावहरु थप गरि संकल्प प्रस्तावका रुपमा सार्वजनिक गरिएकाे कांग्रेसले जनाएकाे छ ।
कांग्रेसको घाेषणापत्रको पूर्णपाठ
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९, १२:४४