काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित हात पारेको छ । यसअघिका दुई खेल हारेको पाकिस्तानले तेस्रो खेलमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाए ।
पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले सर्वाधिक २७ रन बनाए । पाकिस्तानका शादब खानले ३, मोहम्मद वासिम जुनियरले २ र शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले एक एक विकेट लिए ।
जीतसँगै पाकिस्तानको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । पाकिस्तान पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा जिम्बावेसँग पराजित भएको थियो । पाकिस्तानले अव बिहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । यी सबै खेल पाकिस्तानले जितेमा र अन्य खेलमा पनि आफु अनुकुल नतिजा आएमा पाकिस्तान सेमिफाइनलमा पुग्नेछ।
प्रतियोगितामा बंगलादेशले जिम्बावेलाई ३ रनले हराएको छ । १५१ रनको लक्ष्य पाएको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । जिम्बावेका सिन विलियम्सले ६४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । बंगलादेशका टास्किन अहमदले ३ तथा मुस्ताफिजुर रहेमान र मोसाद्देक हुसेनले दुई दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । बंगलादेशका नाजमुल हुसेन स्यान्टोले ७१ रन बनाए भने आफिफ हुसेनले २९ रनको योगदान गरे । तालिकामा बंगलादेश दोस्रो र जिम्बावे चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९, १७:२३