काठमाडौँ । काठमाडौँमा २०४५ सालमा ११ जनाबाट छठ पूजा सुरु गरिएको हो । तर अहिले हजारौँ नागरिकले छठ पूजा गर्ने गरेका छन् । यस वर्ष गौरी घाट, कमलपोखरी, कुपण्डोललगायत बाग्मती र विष्णुमती नदीका किनारलगायत २० भन्दा बढी स्थानमा घाट निर्माण गरिएको छ । यसले केही वर्ष अघिसम्म तराई–मधेसमा मात्र सीमित छठ पर्व अहिले तराई–मधेसमा मात्र मात्रै सीमित छैन भन्ने देखाउँछ ।
जनकपुरका प्रमीला महतोले २५ वर्षदेखि काठमाडौँमा छठ मनाउँदै आउनुभएको छ । १५ बर्ष अघिसम्म पनि गौरी घाटमा मधेसी समुदायका थोरै नागरिकले मात्र छठ मनाउने गरेको उहाँले बिर्सनुभएको छैन । तर, अहिले काठमाडौँमा छठ पर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दो छ । अब छठ पर्व तराइवासीको मात्र नभएर पहाडी समुदायको पनि पर्व बनेको छ । दोलखाका बिन्दा सुवेदी चार वर्षदेखि छठको व्रत बस्न थाल्नुभएको छ । छठीमाईको पूजा हेर्न, गौरी घाट जाँदाजाँदै आफूले पनि व्रत बस्न थालेको उहाँ बताउनुहुन्छ ।
वीरगन्जका कान्ति रानाले पनि छठ मनाउन सुरु गरेको पाँच वर्ष भयो । काठमाडौँमा छठको रौनक बढ्दै जाँदा उहाँलाई पनि व्रत बस्ने रहर जागेको हो । संस्कृति जति विस्तार भयो उति राम्रो हो । तराई क्षेत्रमा मात्र सीमित पर्व अब सबै समुदायको बनेको देखेर सर्लाहीका उमा साहलाई खुसी लागेको छ ।
पछिल्ला वर्षमा छठ तराईबाट काठमाडौँ उपत्यका र पहाडी समुदायको पनि बन्दै गएको र यसले सामाजिक एकता र पारस्परिक सद्भावलाई बलियो बनाएको डाक्टर विनोदकुमार कर्ण बताउनुहुन्छ । सबै समुदायको साझा बन्दै गएको छठ पर्वले धार्मिक एवं सांस्कृतिक सहिष्णुताका त बढाएको छ नै साथै मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग जोड्ने बलियो कडिको रूपमा समेत विस्तार भएको छ ।
नदी किनारमा सजाइएका घाटमा आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुले आज रातभर घाटमा बसेर पूजाआजा गरी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने गर्छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९, १८:५०